भक्तपुरमा दुई दिने चलचित्र महोत्सव आयोजना हुने : २४ चलचित्र प्रदर्शन गरिने
काठमाडौँ, फागुन २९ । भक्तपुरका युवा चलचित्रकर्मीहरूको सक्रियतामा आगामी चैत ६ र ७ गते ‘भक्तपुर चलचित्र महोत्सव’ आयोजना हुने भएको छ। स्थानीय कला, संस्कृति र चलचित्र क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक यहाँका युवाहरू मिलेर यस महोत्सवको आयोजना गर्न लागेका हुन् । किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी र प्रवीण टक्कीलगायतको समूहले महोत्सवको व्यवस्थापन गरिरहेको छ। दुई दिनसम्म चल्ने यस महोत्सवमा कूल २४ वटा चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।
महोत्सवबारे जानकारी दिँदै निर्देशक किरण किलम्बुले भक्तपुरको मौलिक कला, संस्कृति र साहित्यको विकासका लागि यस्ता महोत्सव अपरिहार्य रहेको बताउनुभयो। महोत्सवका संयोजक स्मित गिरीले स्वतन्त्र रूपमा चलचित्र निर्माणमा लागेका युवाहरूलाई प्रोत्साहन र उचित मञ्च प्रदान गर्नु नै यस कार्यक्रमको मुख्य लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
प्रदर्शनीका मुख्य चलचित्रहरू
महोत्सवको प्रमुख आकर्षणका रूपमा नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ प्रदर्शन गरिनेछ। यसका साथै सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’, अङ्कित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’ र राजन कठेत तथा सुनीर पाण्डे निर्देशित वृत्तचित्र ‘ढोरपाटन’ लगायतका चर्चित नेपाली चलचित्रहरू प्रदर्शनको सूचीमा रहेका छन् ।
महोत्सवको समापन सन्देश भुर्तेलको वृत्तचित्र ‘मदर रेबिका’ प्रदर्शनसँगै गरिने आयोजकले जानकारी दिएका छन् । भक्तपुरमा पहिलोपटक आयोजना हुन लागेको यस चलचित्र महोत्सवले स्थानीय पर्यटन र चलचित्र संस्कृतिलाई थप बल पुर्याउने विश्वास लिइएको छ ।