ग्यासको आयात नियमित छ : अनावश्यक सञ्चिती नगर्न आयल निगमको आग्रह
काठमाडौँ, फागुन २९ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र आपूर्ति व्यवस्था सामान्य रहेको स्पष्ट पार्दै उपभोक्ताहरूलाई अनावश्यक सञ्चिती नगर्न आग्रह गरेको छ । पछिल्लो समय बजारमा ग्यासको अभाव हुन सक्ने त्रासका कारण माग बढेपछि निगमले यस्तो प्रष्टीकरण दिएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार नेपालको औसत मासिक खपत ४५ देखि ४६ हजार मेट्रिक टन रहेकोमा चालू फागुन महिनाको २६ गतेसम्म मात्रै ४५ हजार ५०० मेट्रिक टन ग्यास आयात भइसकेको छ। “साविककै परिमाणमा ग्यास भित्रिरहेकाले अभाव हुने स्थिति छैन,” प्रवक्ता ठाकुरले भन्नुभयो, “सुरक्षाका दृष्टिकोणले पनि घरघरमा ग्यास भण्डारण गर्नु जोखिमपूर्ण हुने भएकाले अनावश्यक सञ्चिती नगर्न हामी अनुरोध गर्दछौँ।”
आजदेखि आधा सिलिण्डर ग्यास बजारमा
मध्यपूर्वी मुलुकहरूमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण भविष्यमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्ताहरूले ग्यास थुपार्न थालेपछि निगमले वितरण प्रणालीलाई व्यवस्थित गर्न ‘आधा सिलिण्डर’ ग्यास बिक्री गर्ने निर्णय गरेको छ। सोही निर्णय बमोजिम आजदेखि ग्यास उद्योगहरूले ७.१ किलो ग्यास भरिएका सिलिण्डरहरू बजारमा पठाउन सुरु गरेका छन्। यस कदमले धेरैभन्दा धेरै उपभोक्तासम्म ग्यास पुर्याउन मद्दत पुग्ने निगमको विश्वास छ।
निगमले ग्यासको बिक्री वितरणलाई सहज र पारदर्शी बनाउन देशभरका डिपो र सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जनाएको छ। यदि कहीँकतै ग्यास लुकाउने वा कृत्रिम अभाव सिर्जना गरी अनियमितता गरेको पाइएमा तुरुन्त निगमलाई सूचना दिन समेत उपभोक्ताहरूलाई आग्रह गरिएको छ।
अहिलेको अवस्थामा आपूर्ति चक्र नियमित रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको र बजार अनुगमनलाई थप तीव्र पारिएको निगमले जनाएको छ।