खोटाङ निर्वाचनमा चाम्लिङ भाषाको ‘बोखा’ शब्दको प्रभाव : श्रम संस्कृति पार्टीको ऐतिहासिक विजय
फागुन २९, २०८२ । खोटाङमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चाम्लिङ राई भाषाको शब्द ‘बोखा’ (माटो) ले विशेष चर्चा पाउनुका साथै चुनावी नतिजामा समेत निर्णायक भूमिका खेलेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो चुनाव चिह्न ‘अञ्जुलीमा रहेको माटो’ लाई आधार मानी ‘बोखाडा भोट’ (माटोमा भोट) भन्दै चलाएको अभियानले जिल्लाभर व्यापक प्रभाव पारेको हो ।
किरात राई समुदायको बाहुल्यता रहेको खोटाङमा भाषिक सामिप्यताका कारण यो शब्द छोटो समयमै गैर–राई समुदायमा समेत स्थापित भयो। चाम्लिङ भाषाविज्ञ तिलक चाम्लिङका अनुसार, चुनावकै कारण ‘बोखा’ शब्द अहिले जनजिब्रोमा झुण्डिन पुगेको छ। यसअघि अन्य दलका नेताहरूले पनि मातृभाषामा भोट माग्ने गरे तापनि यसपल्ट श्रम संस्कृति पार्टीले यसलाई मुख्य राजनीतिक एजेन्डा र पहिचानका रूपमा स्थापित गर्न सफल भयो।
पुरानो विरासत ढल्यो, आरेन राई विजयी
भाषिक र सांस्कृतिक भावनालाई समेट्दै अघि बढेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले जिल्लाको दशकौँ पुरानो राजनीतिक विरासतलाई भत्काउनुभएको छ। पार्टीका महासचिव समेत रहनुभएका २९ वर्षीय राई १६ हजार ६१२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। उहाँले नेकपा (एमाले) का उम्मेदवार देवविक्रम राईलाई ३ हजार ८९८ मतान्तरले पराजित गर्नुभयो । एमालेका उम्मेदवारले १२ हजार ७१४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ र नेकपाका डा. हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गर्नुभएको छ ।
समानुपातिकतर्फ पनि पहिलो स्थान
दश स्थानीय तह रहेको खोटाङमा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पनि ऐतिहासिक सफलता हासिल गरेको छ। कूल ६३ हजार २५७ सदर मतमध्ये १८ हजार १३७ मत प्राप्त गर्दै यो पार्टी जिल्लामा पहिलो राजनीतिक दल बन्न सफल भएको छ ।
११ जना उम्मेदवारको जमानत जफत
निर्वाचनमा पुराना र स्थापित दलहरूबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिए पनि परिणाम अनपेक्षित देखियो। निर्वाचनमा सहभागी १५ उम्मेदवारमध्ये ११ जनाको जमानत जफत भएको छ। जमानत जफत हुनेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र नेकपा (माओवादी) का उम्मेदवारहरू समेत रहेका छन् ।
पहिचान, श्रम संस्कृति र स्थानीय भाषाको उचित प्रयोगले मतदाताको मनोविज्ञानमा कस्तो प्रभाव पार्छ भन्ने कुरा खोटाङको यो निर्वाचन परिणामले पुष्टि गरेको राजनीतिक विश्लेषकहरूको ठहर छ। निर्वाचनका क्रममा भोजपुरका नेता सुदन किरातीले समेत मातृभाषामा भोट मागेको भिडियो चर्चामा रहनुले पनि यसपल्टको चुनावमा भाषिक मुद्दाले प्राथमिकता पाएको प्रष्ट हुन्छ ।