चितवनमा तोरी उत्पादनमा उल्लेख्य गिरावट : प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी
काठमाडौँ, चैत १ । चितवन जिल्लामा यस वर्ष तोरीको उत्पादनमा उल्लेख्य गिरावट आएको छ। गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्व र कुल उत्पादन दुवै घटेको कृषि विकास कार्यालय चितवनले जनाएको छ । कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार, गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष घटेर १.०१ मेट्रिक टनमा सीमित भएको छ । तथ्याङ्कअनुसार गत वर्ष जिल्लामा कुल १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएको थियो भने यस वर्ष मात्र १४ हजार ३१५ मेट्रिक टन उत्पादन भएको छ ।
जिल्लामा हाल १४ हजार १७३ हेक्टर क्षेत्रफलमा तोरीखेती हुँदै आएको छ । उत्पादनमा ह्रास आउनुको मुख्य कारण बेमौसमी वर्षा रहेको विज्ञहरूको भनाइ छ। प्रतिकूल मौसमका कारण कतिपय किसानले दोस्रोपटक तोरी छर्नुपर्ने बाध्यता आएको थियो । यसका साथै, तोरीको फूल फुल्ने समयमा लागेको बाक्लो हुस्सु र तुसारोका कारण पनि उत्पादकत्वमा नकारात्मक असर परेको हो ।
चितवनलाई नेपालको तोरी उत्पादनको महत्त्वपूर्ण क्षेत्रका रूपमा लिइन्छ। पछिल्ला वर्षहरूमा नगदे बालीतर्फ किसानको बढ्दो आकर्षण र जङ्गली जनावरले अन्य बालीको तुलनामा तोरीमा कम क्षति पुर्याउने भएकाले यसतर्फ किसानहरूको रुचि बढ्दै गएको थियो। तर, यस वर्षको प्राकृतिक प्रतिकूलताले उत्पादनमा कमी ल्याउँदा कृषकहरू चिन्तित बनेका छन् ।