वडावासीको कलेजो जाँचका लागि वीर अस्पताल र काठमाडौँ महानगर वडा २७ बीच सम्झौता

काठमाडौँ, चैत १० । काठमाडौँ महानगरपालिका वडा नं. २७ का बासिन्दाहरूको कलेजो परीक्षण तथा प्रारम्भिक उपचारका लागि वडा कार्यालय र वीर अस्पतालबीच एक द्विपक्षीय सम्झौता भएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको विशेष उपस्थितिमा मंगलबार सो सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रमा वडाका तर्फबाट वडाध्यक्ष योगेशकुमार खड्गी र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रा. डा. दिलीप शर्माले हस्ताक्षर गर्नुभएको छ।

नसर्ने रोगको जोखिम न्यूनीकरणमा जोड
सम्झौता कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले सहरी जीवनशैली र खानपानका कारण सहरवासीहरू नसर्ने रोगको उच्च जोखिममा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “वडावासीको घरदैलोमै पुगेर स्वास्थ्य सेवा सुनिश्चित गर्ने यो प्रयास अत्यन्तै सराहनीय र प्रभावकारी छ।”

त्यस्तै, वडाध्यक्ष खड्गीले धुमपान, मद्यपान र अस्वस्थ खानपानले कलेजोमा गम्भीर असर पुर्‍याइरहेको तथ्यलाई मध्यनजर गर्दै प्रारम्भिक अवस्थामै रोग पहिचान गर्न यो सहकार्य थालिएको स्पष्ट पार्नुभयो।

कसरी लिने सेवा?
सम्झौता अनुसार, कलेजो जाँचका लागि वडावासीहरूले सुरुमा स्थानीय स्वास्थ्य प्रवर्द्धन केन्द्रमा प्रारम्भिक जाँच गराउनुपर्नेछ। केन्द्रले आवश्यक ठानेमा मात्र बिरामीलाई थप विशिष्टीकृत परीक्षणका लागि वीर अस्पतालमा ‘रिफर’ गर्नेछ।

हुनेछन् यी महत्वपूर्ण परीक्षणहरू
अस्पतालमा रिफर भएका व्यक्तिहरूका लागि विभिन्न महत्वपूर्ण परीक्षणको व्यवस्था गरिएको छ। वडा २७ की फोकल पर्सन मनिषा श्रेष्ठका अनुसार अस्पतालमा निम्न जाँचहरू हुनेछन्:

  • सीबीसी : शरीरमा संक्रमण, रक्तअल्पता र रोग प्रतिरोधात्मक क्षमता मापन गर्न

  • एलएफटी : कलेजोको कार्यक्षमता, हेपाटाइटिस, फ्याटी लिभर र जन्डिसको अवस्था बुझ्न

  • एफवीएस : रगतमा चिनीको मात्रा र मधुमेहको जोखिम पत्ता लगाउन

  • गामा जीटी र लिपिड प्रोफाइल : मद्यपानको असर, कोलेस्ट्रोलको मात्रा र हृदयाघातको जोखिम मूल्यांकन गर्न

  • क्रिटिनीन : मिर्गौलाको स्वास्थ्य अवस्था र रगत छान्ने क्षमता जाँच गर्न

  • हेपाटाइटिस र एचआईभी परीक्षण: विभिन्न भाइरल संक्रमणहरू पहिचान गर्न

  • यूएसजी : कलेजो, पित्तथैली, मिर्गौला लगायतका भित्री अंगको भिडियो एक्सरे गरी ट्युमर वा अन्य समस्या पत्ता लगाउन।

वीर अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. शर्माले रोगले उग्र रूप लिनुअघि नै पहिचान गर्न सके उपचार सफल हुने र सम्भावित जनस्वास्थ्य संकट टार्न सकिने बताउनुभयो।

महानगरको यो पहलले न्यून आय भएका र स्वास्थ्य पहुँचबाट टाढा रहेका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।