कार्य सम्पादन स्तरको थाहा पाउन कार्यवाहक प्रमुख डंगोल विभागीय अनुगमनमा
काठमाडौँ, चैत ११ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरका विभिन्न विभागहरूको कार्य सम्पादन प्रणालीको स्थलगत अनुगमन सुरु गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहितको टोलीले मंगलबार सूचना प्रविधि विभागबाट अनुगमनको थालनी गरेको हो ।
अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले कर्मचारीहरूले डेस्कबाट प्रवाह गरिरहेको सेवा, कार्य जिम्मेवारी, कार्यभार र कार्य वातावरणबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो । उहाँले सेवा प्रवाहका क्रममा आइपर्ने चुनौतीहरू र तिनको समाधानका लागि अपनाइएका विधिहरूबारे कर्मचारीहरूसँग संवाद गर्नुभएको थियो ।
विशेष गरी महानगरले उपलब्ध गराउँदै आएका विद्युतीय सेवाहरू, तथ्याङ्क संकलन तथा विश्लेषण प्रक्रिया, भण्डारण क्षमता र सार्वजनिक महत्त्वका सूचनाहरूको स्वचालित वितरण प्रणालीका विषयमा डंगोलले चासो व्यक्त गर्नुभएको थियो । सेवालाई थप पारदर्शी र सेवाग्राहीमैत्री बनाउन प्रविधिको उच्चतम प्रयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो अवसरमा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले विभागीय गतिविधिबारे ब्रिफिङ गर्नुभएको थियो । उहाँले छरिएर रहेका विभिन्न प्रणालीहरूलाई एकीकृत गर्ने, डाटा सेन्टर सञ्चालनमा ल्याउने, विद्यालयहरूमा ‘इ-हाजिरी’ कार्यान्वयन गर्ने तथा सीसीटिभी जडान कार्यलाई तीव्रता दिने योजना प्रस्तुत गर्नुभयो । साथै, ‘इ-शिफारिस’ र ‘इ-टिप्पणी’ प्रणालीलाई थप प्रभावकारी बनाउन विभाग लागिपरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, महाशाखा प्रमुख अशोक श्रेष्ठले जग्गा प्रशासन र घर नम्बरिङ प्रणालीको प्रगतिबारे जानकारी गराउँदै घर नम्बरिङको काम आगामी ३० दिनभित्र सम्पन्न हुने चरणमा रहेको बताउनुभयो । अनुगमनका क्रममा सूचना प्रविधि अधिकृत माधव खनालले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (Software Development and Operation Center) बाट भइरहेका प्राविधिक कार्यहरूबारे जानकारी दिनुभएको थियो ।
महानगरले आफ्ना सेवाहरूलाई पूर्णतः प्रविधिमैत्री बनाउँदै सुशासन कायम गर्ने उद्देश्यले यो अनुगमन प्रक्रिया अघि बढाएको जनाएको छ ।