मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिमसहित पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, चैत १ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण हाल देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली र अन्य भूभागमा आंशिक बदलीको अवस्था रहेको छ । अहिले गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा समेत वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना कायमै रहने देखिन्छ । यसैगरी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण मौसममा आएको यो परिवर्तनले तापक्रम र जनजीवनमा पर्न सक्ने असरप्रति सतर्क रहन विभागले अनुरोध गरेको छ ।