एक महिनाअघि भत्ता लिन हिँडेका लमजुङका ८७ वर्षीय वृद्ध ड्याममा मृत फेला
लमजुङ, २ चैत्र । एक महिनाअघि घरबाट बेपत्ता भएका लमजुङका एक वृद्ध जलविद्युत् आयोजनाको ड्याममा मृत अवस्थामा फेला परेका छन्।
बेँसीसहर नगरपालिका–१, दलालस्थित ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा आइतबार राति पानीमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार, मृतक बेँसीसहर नगरपालिका–११, चितिका ८७ वर्षीय धनबहादुर सिलवाल हुन्। ड्याममा भेटिएको शव मृतकका छोरा दीपक सिलवालले पहिचान गरेका थिए।
प्रहरीका अनुसार सिलवाल गत माघ १७ गतेदेखि बेपत्ता थिए। सामाजिक सुरक्षा भत्ता बुझ्न भनी घरबाट बेँसीसहर निस्किएका उनी बेलुकासम्म पनि नफर्किएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएको थियो। हराएको लामो समयपछि उनको शव फेला परेको हो।
घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पोस्टमार्टमका लागि मृतकको शव बेँसीसहरस्थित प्रदेश अस्पतालमा राखिएको छ।