चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २२ गैँडाको मृत्यु : दुईवटाको कारण करेन्ट, अन्य प्राकृतिक

काठमाडौँ, साउन १ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गत एक वर्षको अवधिमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म निकुञ्ज क्षेत्रभित्र २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गरी कुल २२ वटा गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, कुल मृत गैँडामध्ये दुईवटाको मृत्यु करेन्ट लागेर भएको हो भने बाँकी २० वटाको मृत्यु प्राकृतिक कारणले भएको छ । करेन्ट लागेर चितवनको माडी (मध्यवर्ती क्षेत्र) र नवलपरासी सुस्तापूर्वको लोकाहा खोला नजिक (राष्ट्रिय वन क्षेत्र) मा एक–एकवटा गैँडा मरेका हुन् ।

अन्य गैँडाहरू मुख्यत: दलदलमा फसेर, एकापसमा जुधेर, बुढो भएर तथा बच्चा गैँडा (केटाकेटी) लाई बाघले खाएर मरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३० वटा गैँडाको मृत्यु भएको थियो, जसमा २८ वटा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा र दुईवटा राष्ट्रिय वन क्षेत्रमा मरेका थिए। अघिल्लो वर्षको तुलनामा गत वर्ष गैँडाको मृत्युदरमा केही कमी आएको देखिन्छ ।

सन् २०२१ मा गरिएको पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा वयस्क गैँडा रहेका छन् । निकुञ्जले दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सुरक्षा गस्ती र सचेतनाका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।