एनआरएनएको १२औँ विश्व सम्मेलन सम्पन्न: लगानी प्रवर्द्धन र श्रमिक सुरक्षाका लागि १२ बुँदे घोषणापत्र जारी
काठमाडौँ, चैत २ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मुख्य संकल्पका साथ आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय एकता महाधिवेशन १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौँमा सम्पन्न भएको छ । फागुन ३० देखि चैत २ गतेसम्म चलेको यस सम्मेलनले मुलुकको समृद्धिमा प्रवासी नेपालीको योगदान, श्रमिक अधिकार र संस्थागत एकतालाई केन्द्रमा राखेको छ ।
प्रवासी नेपालीको लगानीलाई नेपालको पूर्वाधार, जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा परिचालन गर्न सम्मेलनले सरकारसँग माग गरेको छ । लगानी सहज बनाउनका लागि छुट्टै निकाय स्थापना गर्न, बैंक खाता सञ्चालनमा सरलीकरण गर्न र लगानी फिर्ता (Repatriation) लैजाने प्रक्रियालाई सहज बनाउन विद्यमान ऐन तथा नियमावली संशोधनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।
मध्यपूर्व लगायत विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा र अधिकारप्रति सम्मेलनले गम्भीर चासो व्यक्त गरेको छ । सङ्कटमा परेका नेपालीहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकार तथा अन्तरराष्ट्रिय निकायहरूसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ ।
विदेशमा जन्मिएका र हुर्किएका नेपाली युवाहरूलाई आफ्नो पुर्ख्यौली देशको भाषा, संस्कृति र इतिहाससँग जोड्न विशेष पहल गरिने भएको छ । यसका लागि डिजिटल माध्यम र विभिन्न शैक्षिक एवं सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने सङ्घले जनाएको छ ।
विश्वभर छरिएका नेपाली विज्ञहरूको ज्ञान, अनुभव र पुँजीलाई एकीकृत गरी आत्मनिर्भर नेपाल निर्माणमा उपयोग गर्ने सामूहिक सङ्कल्प गरिएको छ । साथै, नवप्रवर्तनमूलक उद्योगहरूमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहित गरिने जनाइएको छ ।सम्मेलनमा विश्वभरबाट कूल ४ हजार २८६ प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । जसमध्ये ४ सयभन्दा बढी प्रतिनिधिहरू काठमाडौँमा भौतिक रूपमा उपस्थित थिए भने बाँकी प्रतिनिधिहरूले अनलाइन माध्यमबाट सक्रिय सहभागिता जनाएका थिए ।
सम्मेलनले विश्वभरका नेपाली समुदायलाई एकताबद्ध गर्दै मातृभूमिको विकासमा सक्रिय रूपमा लाग्न आह्वान गर्दै समापन भएको छ ।