टुँडिखेलमा घोडेजात्राको उत्साह: राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा सेनाको कौशल प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ, ४ चैत । काठमाडौँ उपत्यकाको प्राचीन र सांस्कृतिक महत्वको घोडेजात्रा पर्व आज टुँडिखेलमा भव्यताका साथ मनाइएको छ । चैत्र कृष्ण औँशीका दिन मनाइने यस पर्वका अवसरमा नेपाली सेनाले विशेष सैनिक कला प्रदर्शन गरेको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्कीको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीहरूले पनि जात्राको अवलोकन गर्नुभएको थियो ।

समारोहमा नेपाली सेनाका तर्फबाट विभिन्न विधाका अश्वकला मोटरसाइकल खेल, शारीरिक व्यायाम र युद्धकलाका रोचक तथा साहसिक कौशलहरू प्रस्तुत गरिएका थिए । सैनिक टोलीले घोडचढीका विभिन्न विधामा आफ्नो निपुणता प्रदर्शन गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो ।

परापूर्वकालदेखि टुँडिखेलमा बास गर्ने ‘गुरुमापा’ नामक राक्षसको प्रेतात्मालाई घोडाको टापले कुल्चाएर दबाउने र सहरका बालबालिकालाई अनिष्टबाट जोगाउने धार्मिक विश्वासका आधारमा यो जात्रा मनाउने गरिन्छ ।

घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जात्रा अवलोकनका लागि टुँडिखेल आसपास सर्वसाधारणको ठूलो घुइँचो लागेको थियो ।