निजामती कर्मचारी अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प, बिरामीहरू मर्कामा

काठमाडौँ, ७ असार । काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा विगत छ महिनादेखि ‘सिटी स्क्यान’ सेवा बन्द भएको छ। जटिल प्रकृतिका रोगहरूको परीक्षण र पहिचानका लागि प्रयोग हुने सिटी स्क्यान मेसिन बिग्रिएपछि सेवा ठप्प हुँदा बिरामीहरू मर्कामा परेका हुन्।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रविप्रकाश शर्माका अनुसार विगत छ महिनादेखि मेसिन बिग्रिएर मर्मत हुन नसक्दा सेवा सञ्चालन गर्न नसकिएको हो।

“सिटी स्क्यान मेसिन नचल्दा बिरामीहरूलाई धेरै नै समस्या भएको छ,” डा. शर्माले भन्नुभयो, “अस्पतालमा सेवा नहुँदा बिरामीहरूलाई सिटी स्क्यान गराउनका लागि बाहिरका अन्य स्वास्थ्य संस्था वा निजी केन्द्रहरूमा पठाउनुपर्ने बाध्यता छ।”

निजामती कर्मचारीका साथै आम सर्वसाधारणको समेत सहुलियतपूर्ण उपचारको रोजाइमा पर्ने गरेको यस अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामीहरू उपचारका लागि आउने गरेका छन्। अस्पताल जस्तो संवेदनशील सार्वजनिक स्वास्थ्य संस्थामा लामो समयसम्म अत्यावश्यक उपकरण मर्मत हुन नसक्नुले व्यवस्थापकीय कमजोरी देखाएको भन्दै सेवाग्राहीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।