रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन सुरु : सभापति लामिछाने र प्रधानमन्त्री शाहद्वारा घण्टी बजाएर उद्घाटन

काठमाडौँ, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा भव्य रूपमा सुरु भएको छ। भरतपुरस्थित ‘गेस्ट हाउस’ चौरमा निर्माण गरिएको विशेष समारोह स्थलमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको विधिवत् उद्घाटन गर्नुभयो ।

महाधिवेशन उद्घाटनको अवसरमा मञ्चमा आसिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि एकैसाथ घण्टी बजाएर ऐक्यबद्धता जनाउनुभएको थियो ।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको सहभागिता रहेको छ ।

त्यसैगरी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि अतिथिका रूपमा कार्यक्रममा उपस्थित हुनुहुन्छ ।

समारोह सुरु हुने समयमा वर्षा भए तापनि महाधिवेशन स्थलमा नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ। रास्वपाले आफ्नो साङ्गठनिक सुदृढीकरण र भावी राजनीतिक कार्यदिशा तय गर्न यो महाधिवेशन आयोजना गरेको हो ।