मध्यपूर्वमा चर्कियो ‘ऊर्जा युद्ध’ : कतारमा आक्रमणपछि इरानलाई ध्वस्त पार्ने ट्रम्पको चेतावनी, विश्व अर्थतन्त्रमा धक्का
एजेन्सी, ५ चैत्र । ऊर्जा पूर्वाधारहरूलाई निसाना बनाउन थालिएसँगै मध्यपूर्वको द्वन्द्व अत्यन्तै खतरनाक मोडमा पुगेको छ । कतारको प्रमुख ग्यास हबमा इरानले गरेको आक्रमण र त्यसपछि अमेरिकाले दिएको कडा चेतावनीले विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा गहिरो सङ्कट पैदा गरेको छ ।
कतारको रास लाफानस्थित तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) केन्द्रमा इरानी आक्रमणपछि लागेको आगो नियन्त्रणमा आए पनि उत्पादनमा ठूलो क्षति पुगेको छ । यसको कडा प्रतिक्रिया स्वरूप कतारले केही इरानी कूटनीतिज्ञहरूलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । यता, इरानले भने अमेरिका र इजरायलको पक्षमा काम गरेको र प्रहरी अधिकारीको हत्या गरेको आरोपमा आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको जनाएको छ ।
द्वन्द्व चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भए इरानको सबैभन्दा ठूलो ‘दक्षिण पार्स ग्यास क्षेत्र’ पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन् । इजरायलले सो क्षेत्रमा आक्रमण गरेको पुष्टि गर्दै ट्रम्पले यसबारे अमेरिकालाई पूर्वजानकारी नभएको दाबी गरेका छन् । ट्रम्पको भनाइलगत्तै इरानले पनि आफ्नो ऊर्जा संरचनामा आक्रमण भए सम्पूर्ण खाडी क्षेत्रका तेल र ग्यास उद्योग खरानी बनाइदिने धम्की दिएको छ ।
ऊर्जा युद्धको बाछिटा खाडीका अन्य देशहरूमा पनि परेको छ । साउदी अरेबियाले इरानी ड्रोन र क्षेप्यास्त्र आक्रमणको कडा सैन्य जवाफ दिने चेतावनी दिएको छ । साउदी सेनाले राजधानी रियादस्थित ग्यास प्लान्टतर्फ गइरहेको ड्रोन नष्ट गरेको जनाएको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) ले क्षेप्यास्त्रको भग्नावशेष खसेपछि आफ्ना केही ग्यास केन्द्र बन्द गर्नुपरेको जनाएको छ । विश्वकै प्रमुख जलमार्ग होर्मुज जलडमरूमध्य नजिकै एक पानीजहाजमा आक्रमण हुँदा आगलागी भएको छ, जसले अन्तर्राष्ट्रिय व्यापारमा चिन्ता बढाएको छ ।
युद्धको मानवीय क्षति पनि बढ्दो छ । इरानी क्षेप्यास्त्र प्रहारबाट इजरायलमा थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या १५ पुगेको छ । यता, वेस्ट बैंकमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा तीन प्यालेस्टिनी महिलाको मृत्यु भएको छ । यस द्वन्द्वमा प्यालेस्टिनी नागरिकको ज्यान गएको यो पहिलो घटना हो ।
यसैबीच, इजरायलले इरानी गुप्तचर मन्त्री इस्माइल खातिबको हत्या गरेको दाबी गर्दै इरानी अधिकारीहरूमथिको कारबाही नरोकिने स्पष्ट पारेको छ । यसको जवाफमा इरानका सर्वोच्च नेता मोजताबा खामेनीले आक्रमणकारीले यसको ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन् ।
युद्धको प्रत्यक्ष असर उड्डयन क्षेत्र र विश्व अर्थतन्त्रमा देखिएको छ । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सले दुबई र रियादका उडानहरू अप्रिल अन्त्यसम्मका लागि स्थगित गरेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नागरिक तथा ऊर्जा पूर्वाधारमाथिको आक्रमण तत्काल रोक्न अपिल गरेका छन् ।
बढ्दो भू–राजनीतिक तनावका कारण महँगी (मुद्रास्फीति) बढ्ने प्रक्षेपण गर्दै अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ ।
यसैगरी, इराकमा इरान समर्थित सशस्त्र समूह ‘कातेब हिजबुल्लाह’ ले अमेरिकी दूतावासमाथिको आक्रमण पाँच दिनका लागि रोकेको घोषणा गरेको छ । उता, कुवेतले महत्त्वपूर्ण पूर्वाधारमा आक्रमणको षड्यन्त्र रचेको आरोपमा हिजबुल्लाहसँग सम्बद्ध १० जनालाई पक्राउ गरेको छ ।
समग्रमा, ऊर्जा केन्द्रहरूलाई लक्षित गरी भइरहेका यी शृङ्खलाबद्ध आक्रमणले क्षेत्रीय युद्धलाई विश्वव्यापी आर्थिक सङ्कटतर्फ धकेलिरहेको विश्लेषकहरूले जनाएका छन् ।