बसको ठक्करबाट कार सुनकोशीमा खस्यो : तीन जना बेपत्ता, खोजीका लागि गोताखोर परिचालन
सिन्धुली, १८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बसको ठक्करपछि एउटा कार सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा परी कारमा सवार तीन जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भएको कार सडकबाट करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको हो ।
दुर्घटनामा सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश थापा र पहिचान खुल्न नसकेका अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।
बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको नेतृत्वमा खटिएको गोताखोर टोली र नेपाल प्रहरीले नदीमा व्यापक खोजी गरिरहेको भए पनि हालसम्म कसैको अवस्था पत्ता लाग्न सकेको छैन ।
नदीमा पानीको बहाव उच्च रहेका कारण खोजी कार्यमा केही कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।