नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो : नदी तटीय क्षेत्र बाघको मुख्य रोजाइ
काठमाडौँ, १८ साउन । नेपालमा पछिल्लो समय बाघको सङ्ख्यामा उत्साहजनक वृद्धि हुनुका साथै नदी तटीय क्षेत्रहरू बाघका लागि सुरक्षित र अनुकूल बासस्थानका रूपमा देखिएका छन् । ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ को नतिजाअनुसार चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर बाघको घनत्व सबैभन्दा धेरै पाइएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार मानवीय गतिविधि कम हुने र पर्याप्त आहारा पाइने भएकाले नदी किनारका क्षेत्रमा बाघको उपस्थिति बाक्लो देखिएको हो । यद्यपि, लालझाडी जस्ता वन अतिक्रमण र मानिसको आवतजावत बढी हुने क्षेत्रमा भने बाघको उपस्थिति तुलनात्मक रूपमा न्यून पाइएको छ ।
गत बुधबार कृषि, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा बाघको कुल सङ्ख्या ३५५ बाट बढेर ४२९ पुगेको छ । निकुञ्जअनुसारको विवरण यस प्रकार छ :
चितवन राष्ट्रिय निकुञ्ज : १४५ (सबैभन्दा धेरै)
बर्दिया राष्ट्रिय निकुञ्ज : ११२
पर्सा राष्ट्रिय निकुञ्ज : ७१
बाँके राष्ट्रिय निकुञ्ज : ५१
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : ५०
सर्वेक्षणले बाघको आहाराका रूपमा चित्तल, जरायो, बाह्रसिङ्गे, बँदेल र रतुवा मृग मुख्य प्रजाति रहेको देखाएको छ । सर्वेक्षणका क्रममा बाघको अस्वाभाविक र लामो दूरीको चलायमान (हिँडडुल) समेत भेटिएको छ । चितवनको कसराबाट हिँडेको एउटा बाघ एक महिनाभित्रै पर्साको अमलेखगञ्जसम्म पुगेको रोचक तथ्य फेला परेको छ । यस्तै, कुल सङ्ख्यामध्ये ५३ प्रतिशत पोथी र ३४ प्रतिशत भाले बाघ रहेको पहिचान भएको छ भने बाँकीको लिङ्ग छुट्टिन सकेको छैन ।
जेडएसएल नेपालका राष्ट्रिय प्रतिनिधि डा. भगवानराज दाहालले संरक्षणका प्रयासहरू सफल भए पनि अब मानव र बाघबीचको द्वन्द्व न्यूनीकरण गरी सहअस्तित्व कायम गर्नु मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले समुदायको आयआर्जनका लागि वैकल्पिक व्यवस्था र बाघको बानीबेहोराबारे सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल सन् २०१० को तुलनामा बाघको सङ्ख्या दोब्बरभन्दा बढी बनाउने विश्वकै पहिलो मुलुक बनेको छ । विश्वभर हाल ५ हजार ३५७ बाघ रहेको तथ्याङ्क छ, जसमा नेपाल चौथो स्थानमा रहेको छ । तराईका पाँचवटा निकुञ्ज र जैविक मार्गहरूमा सीमित बाघको यो बढ्दो सङ्ख्याले नेपालको संरक्षण अभियानलाई विश्वमाझ थप उचाइ दिएको छ ।