माइतीघरको डुबान समस्या सुल्झाउन छुट्टाछुट्टै ढल प्रणाली बनाइने : कार्यवाहक प्रमुख डङ्गोल
काठमाडौँ, १८ साउन । राजधानीको मुटु मानिने माइतीघर मण्डला क्षेत्रमा बर्सेनि हुने डुबानको समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकाले ढल र आकाशे पानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गर्ने भएको छ । सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न मन्त्रालय जाने मुख्य सडक नै सामान्य वर्षामा जलमग्न हुँदा सर्वसाधारण र विशिष्ट व्यक्तिहरूले सास्ती भोग्दै आएपछि महानगरले यस्तो दीर्घकालीन योजना अघि सारेको हो ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले हाल अधिकांश स्थानमा ढल र वर्षाको पानी एउटै प्रणालीबाट बगाइने भएकाले समस्या आएको बताउनुभयो । “सामान्यभन्दा बढी वर्षा हुनासाथ अहिलेको निकास प्रणालीले भार धान्न सक्दैन,” उहाँले भन्नुभयो, “यसको स्थायी समाधानका लागि अब वर्षाको पानी र घरेलु ढलका लागि छुट्टाछुट्टै पाइप राख्ने गरी गुरुयोजना बनाएर काम थालिनेछ ।”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा गठित प्राविधिक समितिको प्रतिवेदनले माइतीघर डुबानको मुख्य कारण प्राकृतिक रूपमा पानी जम्ने क्षेत्रको विनाशलाई औँल्याएको छ । पहिले वर्षाको पानी सोस्ने र बिस्तारै बग्ने भू–भाग अहिले भवन, सडक र कङ्क्रिट संरचनाले ढाकिँदा पानीको चाप ढलमा मात्र थुप्रिने गरेको छ ।
प्रतिवेदनका अनुसार ढल प्रणालीमा रहेका ‘बोटलनेक’ (ठुलो पाइप सानो पाइपसँग जोडिनु), टुकुचा खोलाको पानी उल्टो फर्किने ‘ब्याकवाटर इफेक्ट’ र ढलमाथि भएको अतिक्रमणले डुबान झन् गम्भीर बनाएको छ । यस्तै, वर्षाको पानी र घरेलु फोहोरपानी एउटै पाइपमा मिसिँदा पाइपको क्षमताभन्दा बढी चाप भई म्यानहोलबाट पानी बाहिर निस्कने गरेको अध्ययनले देखाएको छ ।
माइतीघरलगायत उपत्यकाका अन्य डुबान क्षेत्रको व्यवस्थापनका लागि प्राधिकरणको संयोजकत्वमा काठमाडौँ महानगरपालिका, सडक डिभिजन र केयूकेएलबीच समन्वय सुरु भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले अस्थायी मर्मतले मात्र नपुग्ने भन्दै जमल र माइतीघर जस्ता क्षेत्रका लागि दीर्घकालीन समाधान खोजिने बताउनुभयो ।
मध्यम र दीर्घकालीन योजनाहरू:
१. पाइप स्तरोन्नति: पुराना र साँघुरा ढलका पाइप हटाएर आवश्यकता अनुसार ठुला पाइप जडान गरिने ।
२. प्रणाली पृथकीकरण: वर्षाको पानी (स्टर्म वाटर) र ढल (स्यानिटरी सिउर) को छुट्टाछुट्टै व्यवस्थापनका लागि विस्तृत गुरुयोजना कार्यान्वयन गरिने ।
३. अनिवार्य ‘रेन वाटर हार्भेस्टिङ’: नयाँ ठुला सरकारी तथा व्यावसायिक भवनहरूमा वर्षाको पानी सङ्कलन र ढल प्रशोधन प्रणाली अनिवार्य गरिने ।
४. चेक भल्भ जडान: खोलाको पानी उल्टो ढलमा पस्न नदिन ‘नन–रिटर्न चेक भल्भ’ जडान गरिने ।