बेनी–जोमसोम सडकमा पहिरो खस्याे : पन्छाउने क्रममा एक्साभेटर नै पुरियो

म्याग्दी, १८ साउन । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा आज दिउँसो भीषण पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन कार्कीका अनुसार सडकमा थुप्रिएको पहिरो पन्छाउने कार्यमा खटिएको एक्साभेटरमाथि नै पुनः थप पहिरो खस्दा उपकरण समेत पुरिएको छ । “पहिरो हटाउने काम भइरहेकै बेला माथिबाट फेरि लेदो र ढुङ्गा खसेर एक्साभेटर पुरिएको हो, अहिले सडक पूर्ण रूपमा बन्द छ,” उहाँले भन्नुभयो ।

पहिरो ठुलो भएकाले र माथिबाट ढुङ्गा खस्ने क्रम नरोकिएकाले यातायात नियमित सञ्चालन गर्न केही समय लाग्ने देखिएको प्रहरीले जनाएको छ ।

यसअघि नै जिल्ला सुरक्षा समितिले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार र सोमबार राति ७:०० बजेदेखि बिहान ५:०० बजेसम्मका लागि यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइसकेको थियो । तर दिउँसै पहिरो गएपछि मुक्तिनाथ दर्शनका लागि हिँडेका तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक र कोरला नाकासम्म जाने सयौँ यात्रीहरू बीच बाटोमै अलपत्र परेका छन् ।

सुरक्षा निकायले सडक अवरुद्ध रहेकाले हाललाई सो क्षेत्रतर्फको यात्रा नगर्न र वैकल्पिक व्यवस्थाका लागि समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।