मधेस प्रदेशको जनजीवन सामान्य बन्दै : कर्फ्यु र निषेधाज्ञा हटेपछि बढ्यो चहलपहल

जनकपुरधाम, १८ साउन । सिरहाको गोलबजारमा भएको झडपमा परी किशोर गणेश यादवको मृत्यु भएपछि केही दिनदेखि अशान्त बनेको मधेस प्रदेशका जिल्लाहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सरकार र पीडित परिवारबीच सहमति जुटेसँगै ती क्षेत्रमा आजदेखि बजार, यातायात र सर्वसाधारणको चहलपहल बढेको हो।

गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारबीच ८ बुँदे लिखित सम्झौता भएपछि आन्दोलन मत्थर भएको थियो। सम्झौतापछि मधेस प्रदेशले फेरि पुरानै लय समात्न थालेको छ।

स्थानीय प्रशासनले सुरक्षा अवस्थाको विश्लेषण गर्दै धनुषा, सिरहा र सप्तरीका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाएको छ। प्रतिबन्ध हटेसँगै पूर्व–पश्चिम राजमार्गमा सवारी साधनहरू सुचारु भएका छन् भने लामो समयदेखि बन्द रहेका पसल र व्यापारिक प्रतिष्ठानहरू खुलेका छन्।

स्थानीय बासिन्दा विनोद साहले यातायात सेवा सञ्चालनमा आएको र बजार खुल्दा जनजीवन सहज बनेको बताउनुभयो। उहाँले केही दिनको तनावपछि अहिले स्थिति पूर्ण रूपमा शान्त रहेको जानकारी दिनुभयो।

यसैबीच, सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै कुनै पनि किसिमको भ्रामक अफवाहमा विश्वास नगर्न र सामाजिक एवं साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्। स्थिति नियन्त्रणमा भए पनि सुरक्षा निकायले संवेदनशील क्षेत्रहरूमा उच्च सतर्कता भने कायमै राखेको छ।