सेयर बजारमा झिनो गिरावट : नेप्से १.२० अङ्कले घट्दा कारोबार रकममा सुधार

काठमाडौँ, १८ साउन । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुधार देखिएको बजारमा आज भने झिनो गिरावट दर्ता भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक १ दशमलव २० अङ्कले ओरालो लागेर २ हजार ६ सय ८४ दशमलव ३३ विन्दुमा झरेको छ । यद्यपि, ठुला कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ४९ अङ्कले बढेको छ ।
परिसूचक घटे पनि आज कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ । ३४९ कम्पनीको ६३ हजार ६४८ पटकको कारोबारमा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । गत शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको थियो ।

आजको कारोबारमा हालै सूचीकृत भएको एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९६ रुपैयाँ ३० पैसाले बढेर १ हजार ५०५ रुपैयाँ ६० पैसा पुगेको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैङ्कको मूल्य साढे ११ प्रतिशत र महुली लघुवित्तको ७ प्रतिशतभन्दा बढीले बढेको छ । यता, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा भने सबैभन्दा धेरै ७ दशमलव ४० प्रतिशतको गिरावट देखिएको छ ।

रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, रिडी पावर कम्पनीको २१ करोड र ग्लोबल आइएमई बैङ्कको १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ८ वटाको परिसूचक बढेको छ भने ५ वटाको घटेको छ । बैङ्किङ, विकास बैङ्क, होटल तथा पर्यटन, जलविद्युत्, बिमा र लघुवित्त समूहको परिसूचकमा सामान्य सुधार देखिएको छ भने बाँकी उपसमूहहरू केही ओरालो लागेका छन् ।