‘अफलाइन’ जाने र नियम उल्लङ्घन गर्ने १७५ ‘राइड सेयरिङ’ चालक कारबाहीमा

काठमाडौँ, ९ चैत । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने र ‘अफलाइन’ यात्रु बोक्ने १७५ जना ‘राइड सेयरिङ’ (पठाओ, इनड्राइभरलगायत) चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न र अव्यवस्थित सवारी सञ्चालन रोक्न सञ्चालन गरिएको विशेष ‘चेकिङ’ अभियानका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्ने अधिकांश चालकले अनलाइन प्लेटफर्म (एप) को प्रयोग नगरी ‘अफलाइन’ रूपमा यात्रु ओसारपसार गरेका थिए।

त्यसैगरी, व्यस्त चोक, अस्पताल र विद्यालय क्षेत्रमा जथाभावी यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप), सवारीसाधनको प्राविधिक अवस्था कमजोर भएका र आवश्यक कागजपत्र नबोकेका चालकहरू पनि कारबाहीमा परेका छन्।

कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले आधारभूत मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति बढेपछि कारबाही प्रक्रिया अघि बढाइएको बताए। “जथाभावी सवारी रोक्दा यातायात अवरोध हुनुका साथै दुर्घटनाको जोखिम पनि बढ्छ,” एसएसपी अधिकारीले भने, “नियम उल्लङ्घन गर्ने जो कोहीलाई कारबाही गरिनेछ र यो अभियान निरन्तर चल्नेछ।”

ट्राफिक प्रहरीले राइड सेयरिङ कम्पनीहरूलाई आफ्ना चालकको अनुगमनमा कडाइ गर्न निर्देशन दिँदै सर्वसाधारणलाई पनि सुरक्षित र कानुनी रूपमा सञ्चालित सेवा मात्र प्रयोग गर्न आग्रह गरेको छ।