काभ्रेमा बाढीपहिरो पीडितको आवास पुनर्निर्माणका लागि अनुदान सिफारिस : रोशी गाउँपालिकाबाट प्रक्रिया सुरु

काठमाडौँ, चैत १० । काभ्रेपलाञ्चोक जिल्ला विपद् व्यवस्थापन समितिले विसं २०८१ असोजको बाढीपहिरोबाट प्रभावित भएकाहरूका लागि स्थायी आवास निर्माणार्थ लाभग्राहीको नामावली सिफारिस गर्न सुरु गरेको छ। समितिको सोमबार सम्पन्न बैठकले पहिलो चरणमा जिल्लाको रोशी गाउँपालिकाका १९९ घरधुरीलाई स्थायी पुनर्निर्माण र ४० घरधुरीलाई प्रवलीकरण (रेट्रोफिटिङ) का लागि सिफारिस गर्ने निर्णय गरेको हो।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार, विपत्तिले पुर्‍याएको क्षतिको विस्तृत छानबिन गरी स्थायी आवास निर्माणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा नामावली पठाउन थालिएको छ। रोशी गाउँपालिकाबाट सुरु गरिएको यो प्रक्रिया क्रमशः जिल्लाका अन्य प्रभावित स्थानीय तहहरूमा पनि विस्तार गरिने उहाँले जानकारी दिनुभयो।

सरकारले बाढीपहिरोका कारण घर आवास पूर्ण रूपमा क्षति भएका परिवारलाई स्थायी पुनर्निर्माणका लागि कुल ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। उक्त रकममध्ये ५० प्रतिशत सङ्घीय सरकार, ३० प्रतिशत प्रदेश सरकार र बाँकी २० प्रतिशत सम्बन्धित स्थानीय तहले व्यहोर्ने नीतिगत व्यवस्था रहेको छ। यसअघि जिल्लाका १० स्थानीय तहका २ हजार ८९५ परिवारलाई अस्थायी आवासका लागि सरकारले उपलब्ध गराएको प्रारम्भिक अनुदान वितरण गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

२०८१ असोजको प्राकृतिक विपत्तिमा परी रोशी गाउँपालिकामा मात्रै १२ जनाले ज्यान गुमाएका थिए भने जिल्लाभर मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको थियो। जिल्लाका अन्य ६ जना अझै बेपत्ता छन्। रोशी गाउँपालिकामा बाढीपहिरोले ४८२ घर पूर्ण रूपमा र ८८३ घर आंशिक रूपमा क्षति पुर्‍याएको थियो ।

आवासका अतिरिक्त गाउँपालिकाभित्रका ६० खानेपानी आयोजना, एक पक्की पुल, विद्यालय, चार स्वास्थ्य केन्द्र, र भर्खरै निर्माण सम्पन्न भएको प्रसिद्ध डम्फू पार्कसमेत बाढीले बगाएको थियो। साथै, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम र ठूलो परिमाणमा खेतीयोग्य जमिनमा क्षति पुगेको थियो ।

विपद् व्यवस्थापन समितिले चैत अन्तिम सातादेखि निजी आवासको विस्तृत क्षति आकलन सुरु गरी पुनर्निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ, जसले विस्थापित परिवारलाई पुनस्र्थापनामा ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ ।