बेनी–जोमसोम सडकखण्डको सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम सुरु
काठमाडौँ, चैत ११ । भारत र चीन जोड्ने रणनीतिक महत्त्वको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम–कोरला सडकको म्याग्दीस्थित सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथामको कार्य सुरु गरिएको छ । रघुगङ्गा गाउँपालिका-२ मा पर्ने यस क्षेत्रमा भिरालो जमिनलाई सिँढी जस्तो तहगत ढाँचामा ढलाएर स्थिर बनाउने प्राविधिक उपाय (बेञ्चिङ) अपनाइएको हो ।
वर्षायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अल्पकालीन समाधानका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले कम खर्चिलो र प्रभावकारी मानिने यो विधि प्रयोगमा ल्याएको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार, आगामी वर्षायाममा सडकलाई नियमित रूपमा सञ्चालनमा ल्याउन र यात्रालाई सहज बनाउन अस्थायी रूपमा यो कार्य अगाडि बढाइएको हो ।
“सिरुबारीको ३०० मिटर क्षेत्रमा फैलिएको पहिरोको दीर्घकालीन समाधानका लागि करिब ६० करोड रुपियाँ बजेट आवश्यक पर्ने देखिए पनि स्रोत सुनिश्चित हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाटै रोकथामको काम थालेको हो,” प्रमुख शर्माले भन्नुभयो । भिरालो पाखाबाट खस्ने पहिरो र गेग्रानलाई सिधै सडकमा आउन नदिन डोजर परिचालन गरी पाखो सम्म्याउने र सिँढी बनाउने काम भइरहेको छ ।
सिरुबारीमा सडकभन्दा करिब एक किलोमिटर माथिसम्मको जमिन पहिरोग्रस्त छ भने सडकको तल्लो भागमा कालीगण्डकी नदी रहेको छ । विगत तीन वर्षदेखि यहाँ खस्ने पहिरोका कारण कोरला नाकाबाट व्यापारिक सामान लिएर आउने कन्टेनर, मुस्ताङ भ्रमणमा जाने पर्यटक, तीर्थयात्री र स्थानीय बासिन्दाहरू बीच बाटोमै अलपत्र पर्ने समस्या रहँदै आएको छ ।
आयोजनाका अनुसार करिब १७ मिटर फराकिलो बनाइने सडकको डिलतर्फ सात मिटर यातायातका लागि छाडिनेछ भने कुनातर्फको १० मिटरमा सुरक्षा पर्खाल लगाएर पहिरो थुप्रिने ठाउँ (क्याचपिट) निर्माण गरिनेछ । यसबाट माथिबाट खस्ने पहिरो सडकसम्म पुग्न नपाउने र यातायात सञ्चालनमा अवरोध कम हुने विश्वास गरिएको छ । यसअघि सडकखण्डका अन्य ठुला पहिरो नियन्त्रणको काम भए पनि बजेट अभावका कारण सिरुबारीको पहिरो मुख्य चुनौतीका रूपमा रहेको थियो ।