हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु: वास्तविक किसानलाई मात्रै अनुदान दिइने मन्त्री पौडेलको उद्घोष

काठमाडौँ, चैत १३ । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित उक्त प्रदर्शनीको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले कृषि क्षेत्रको चौतर्फी विकासका लागि परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिकीकरण र यान्त्रिकीकरणमा जानुको विकल्प नरहेको बताउनुभयो । उहाँले विगतमा कृषि अनुदान लक्षित वर्गसम्म पुग्न नसकेको यथार्थलाई स्वीकार गर्दै अब उत्पादनका आधारमा वास्तविक किसानलाई मात्रै अनुदान उपलब्ध गराउने गरी सरकारले कार्यविधि तयार पारेको जानकारी दिनुभयो ।

यही चैत १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा बागमती प्रदेशका विभिन्न जिल्लाका साना किसान, कृषि सहकारी तथा महिला उद्यमीहरूको सक्रिय सहभागिता रहेको छ । प्रदर्शनीमा अल्लोबाट निर्मित सामग्री, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, मह, अचार, गेडागुडी, मसला, बाँसका हस्तकला, फलफूलको जुस, तोरीको तेल तथा कृषि प्रविधिसम्बन्धी कूल ४० वटा स्टलहरू राखिएका छन् ।

प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोगमा आयोजित यस मेलाको मुख्य उद्देश्य कृषि उपजहरूको विविधीकरण एवं बजारीकरणमार्फत किसानहरूको आर्थिकस्तर सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ ।