म्याग्दीको मुक्तिपथ आधारभूत विद्यालयमा नयाँ भवन निर्माण, जोखिमपूर्ण पठनपाठनको अन्त्य

काठमाडौँ, चैत १३ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-६, बिरौटास्थित मुक्तिपथ आधारभूत विद्यालयको जीर्ण भवन प्रतिस्थापन गरी नयाँ भवन निर्माण गरिएको छ । योसँगै लामो समयदेखि जोखिम मोलेर अध्ययन-अध्यापन गर्नुपर्ने शिक्षक तथा विद्यार्थीको बाध्यता हटेको छ ।

करिब तीन दशक पुरानो भवनको पर्खाल चिरा परेको र वर्षायाममा छतबाट पानी चुहिने समस्याका कारण विद्यालय असुरक्षित बनेको थियो । नयाँ चारकोठे भवन निर्माण सम्पन्न भएसँगै अब सुरक्षित र सहज वातावरणमा पठनपाठन सुचारु भएको विद्यालयका प्रधानाध्यापक मैयाकुमारी बरुवालले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि भत्कने डरले विद्यार्थी र शिक्षकमा सधैं त्रास रहने गरेकोमा नयाँ संरचनाले ढुक्कसँग पढ्ने वातावरण सिर्जना गरेको छ ।

कक्षा ३ सम्म अध्यापन हुने यस विद्यालयमा हाल २२ जना विद्यार्थी अध्ययनरत छन् । उक्त भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिका र जर्मनीको ‘हिमालय फ्रेण्ड्स इभी’ नामक संस्थाले आर्थिक सहयोग उपलब्ध गराएका हुन् । साथै, स्थानीय उपभोक्ताहरूले समेत यसमा सक्रिय रूपमा श्रमदान गरेका छन् ।

वडाध्यक्ष रामबहादुर खड्काका अनुसार भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा २० लाख रुपियाँ र चालु आर्थिक वर्षमा थप ५ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । यसैगरी, जर्मन संस्थाबाट १ लाख ४९ हजार रुपैयाँ प्राप्त भएको थियो । भौतिक पूर्वाधार विकास अन्तर्गत कक्षाकोठासँगै आधुनिक शौचालयको समेत निर्माण सम्पन्न गरिएको छ ।