भोजपुरको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षण र पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार सक्रिय

काठमाडौँ, चैत १३ । भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको ‘चमेरे गुफा’लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकारले विशेष तदारुकता देखाएको छ । प्राकृतिक बनावट र ऐतिहासिक पृष्ठभूमिले सम्पन्न यस क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारका लागि वडा कार्यालयले योजनाबद्ध काम अघि बढाएको हो ।

ओझेलमा परेको यस स्थानमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले हाल गुफासम्म पुग्ने पहुँच मार्ग र सिँढीसहितको पैदलमार्ग निर्माण गरिएको छ । वडाध्यक्ष कुमार विष्टका अनुसार गुफाको निकट रहेको ‘राज गैया देवी थान’का कारण यस क्षेत्रको धार्मिक गरिमा समेत उच्च रहेको छ । “चमेरे गुफा र राज गैया देवी थान हाम्रो वडाको पहिचान र गौरवका धरोहर हुन्,” वडाध्यक्ष विष्टले भन्नुभयो, “सीमित स्रोतसाधनका बाबजुद हामीले हरेक वर्ष बजेट विनियोजन गरेर यसलाई व्यवस्थित बनाउँदै लगेका छौँ ।” चालु आर्थिक वर्षमा मात्रै यसका लागि ५० हजार रुपियाँ विनियोजन गरिएको छ ।

ऐतिहासिक किम्बदन्ती अनुसार प्राचीन युद्धका समयमा एक रानीले यसै गुफामा शरण लिएर ज्यान जोगाएकाले यस क्षेत्रको नाम ‘रानीबास’ रहन गएको स्थानीय जानकारहरूको भनाइ छ । स्थानीय बासिन्दा रामप्रसाद सुवेदीले यस गुफालाई केवल ढुङ्गाको संरचना मात्र नभई इतिहास र पहिचानसँग जोडिएको सम्पदाका रूपमा व्याख्या गर्नुभयो । उचित संरक्षण र राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सके यो क्षेत्र कोशी प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थल बन्न सक्ने सम्भावना रहेको उहाँको ठम्याइ छ ।

गुफाबाट करिब डेढ किलोमिटर दूरीमा रहेको अर्को पर्यटकीय स्थल ‘जोरआहाल संखामचुली’ सम्मको बाटो भने वि.सं. २०७२ को भूकम्पपछि केही स्थानमा अवरुद्ध भएको छ । उक्त पदमार्गको पुनःसंरचना गर्न सके पर्यटकीय आकर्षण थप बढ्ने स्थानीय नवीन राईले बताउनुभयो । यस क्षेत्रमा प्रत्येक वर्ष वैशाखे पूर्णिमाका दिन भव्य पूजा-आजा गर्ने परम्परा समेत रहिआएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले पालिकाभित्रका सबै धार्मिक एवं ऐतिहासिक स्थलहरूको संरक्षणका लागि दीर्घकालीन योजना बनाइएको जानकारी दिनुभयो । पर्यटनको विकासमार्फत स्थानीयको आर्थिक जीवनस्तर सुधार्ने लक्ष्य पालिकाले लिएको उहाँको भनाइ छ । गाउँपालिकाको केन्द्र घोडेटारबाट नजिकै पर्ने भएकाले अहिले पनि दैनिक रूपमा दर्शनार्थी र अवलोकनकर्ताहरू चमेरे गुफा पुग्ने गरेका छन् ।