पक्राउ परेका एमाले अध्यक्ष ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण

काठमाडौँ,  चैत १४ । प्रहरीद्वारा नियन्त्रणमा लिइएका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल लगिएको छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार अध्यक्ष ओलीको अहिले अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण भइरहेको छ। “प्रहरीले स्वास्थ्य परीक्षणको प्रयोजनका लागि उहाँलाई अस्पताल ल्याएको हो,” डा. सेढाईंले भन्नुभयो, “अहिले उहाँको रगत परीक्षण र एक्सरेलगायतका आवश्यक स्वास्थ्य जाँच भइरहेका छन् । परीक्षणको विस्तृत रिपोर्ट आएपछि मात्र थप प्रक्रियाबारे जानकारी हुनेछ।”

अध्यक्ष ओलीलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पश्चात् उहाँलाई सुरुमा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको थियो भने त्यहाँबाट स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुर्‍याइएको हो ।

प्रहरीका अनुसार ‘जेनजी’  आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दिएको प्रतिवेदन र सिफारिस कार्यान्वयन गर्ने सिलसिलामा उहाँलाई नियन्त्रणमा लिइएको हो । स्वास्थ्य परीक्षण सम्पन्न भएपछि उहाँलाई पुनः प्रहरी नियन्त्रणमा राखेर कानुनी प्रक्रिया अघि बढाइने बुझिएको छ ।