कामपाका १० वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गरिने : कार्यवाहक प्रमुख डङ्गोल
काठमाडौँ, १७ चैत । काठमाडौँ महानगरपालिका (कामपा) ले आफ्ना ३२ वटा वडामध्ये पहिलो चरणमा १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ ।
कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार, पहिलो चरणमा नमूनाका रुपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा यो सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । “यसका लागि महानगरपालिकाले चाबहिल, डिल्लीबजार र कलङ्की मालपोत कार्यालयसँग सहकार्य गर्नेछ,” उहाँले भन्नुभयो ।
यसअघि वडाबाट चार किल्ला सिफारिस र घरबाटो सिफारिस जस्ता सेवा दिइँदै आएकोमा अब भूमि प्रशासन सेवासमेत थप गर्न लागिएको हो । अब भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, र कर तथा राजस्वसम्बन्धी सेवा वडाबाटै प्राप्त हुनेछन् ।
कामु प्रमुख डङ्गोलले थप्नुभयो, “नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाटै लिने व्यवस्था, सेवाग्राहीको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियाको सिफारिस र अभिलेख व्यवस्थापन पनि अब वडाबाटै हुनेछ ।”
कामपाको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रुपमा १० वटा वडाबाट भूप्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुरुप अहिले यसलाई कार्यान्वयनमा ल्याउन लागिएको हो ।