फिफा विश्वकप २०२६: पूर्व विजेता उरुग्वेलाई नवप्रवेशी केप भर्डेले रोक्यो, रोमाञ्चक बराबरीमा टुङ्गियो खेल

 

काठमाडौँ, ८ असार । दुई पटकको विश्व विजेता उरुग्वे फिफा विश्वकप २०२६ को समूह चरणको खेलमा नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आइतबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा उरुग्वेले केप भर्डेसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

यसअघि बलियो टोली स्पेनलाई समेत बराबरीमा रोकेर सनसनी मच्चाएको केप भर्डेले उरुग्वेविरुद्ध पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दियो । खेलमा दुवै टोलीले सुरुवाती अग्रता जोगाउन नसक्दा नतिजा बराबरीमा टुङ्गिएको हो ।

खेलको उतारचढाव
खेलको २१औं मिनेटमा केप भर्डेका केभिन पिनाले फ्रिकिकमार्फत सानदार गोल गर्दै टोलीलाई अप्रत्याशित र ऐतिहासिक अग्रता दिलाएका थिए । सुरुवातमै पछि परेको उरुग्वेले खेलमा फर्किन निकै संघर्ष गर्नुपर्‍यो । पहिलो हाफको अन्त्यतिर ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गरेपछि उरुग्वे २–१ ले अघि बढ्दै सुखद स्थितिमा पुगेको थियो । तर, दोस्रो हाफको ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरबीच तालमेल नमिल्दा (Miscommunication) त्यसको फाइदा केप भर्डेले उठायो । हेलियो भारेलाले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।

तथ्याङ्कमा उरुग्वे अघि, नतिजामा बराबरी
खेलको तथ्याङ्कअनुसार उरुग्वेले बल पोजिसनमा केप भर्डेभन्दा करिब दोब्बर समय नियन्त्रण बनाएको थियो । उरुग्वेले गोलका लागि प्रहार (Shots) पनि धेरै गरेको थियो, तर केप भर्डेको बलियो रक्षापंक्ति तोड्न उनीहरू सफल भएनन् ।

प्रशिक्षकहरूको प्रतिक्रिया
खेलपछि प्रतिक्रिया दिँदै केप भर्डेका प्रशिक्षक बुबिस्टाले आफ्ना खेलाडीहरूको साहसको प्रशंसा गरे । उनले भने, “हाम्रो टोलीले सुरुदेखि नै साहस देखायो र सधैं जित्ने उद्देश्यका साथ खेल्यो । हामी आफ्ना खेलाडीहरूमाथि पूर्ण विश्वास गर्छौं, यो नतिजाले हामीलाई खुसी तुल्याएको छ ।”

यता, उरुग्वेका मुख्य प्रशिक्षक मार्सेलो बिएल्साले भने खेलको इन्टेन्सिटी (Intensity) कायम राख्न नसक्नुलाई कमजोरी मानेका छन् । “जबसम्म हामीले राम्रो रक्षा गर्यौं, हामी अग्रतामा थियौं । तर खेलमाथिको नियन्त्रण र गति गुमाउँदा प्रतिद्वन्द्वीले पुनरागमन गर्ने मौका पायो,” बिएल्साले स्वीकार गरे ।

समूह ‘एच’ को अंक तालिका
यो बराबरीसँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डेले २–२ खेलबाट समान २–२ अंक जोडेका छन् । यस समूहमा २ खेलबाट ४ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ भने साउदी अरेबियाको १ अंक रहेको छ । नवप्रवेशी भएर पनि केप भर्डेले देखाएको यो प्रदर्शनले विश्व फुटबलमा सबैको ध्यान खिचेको छ ।