मौलिक चुड्का नाच जोगाउन जुर्मुरायो दरै समुदाय: पुस्तान्तरणका लागि प्रतियोगिता
तनहुँ, ८ असार । आधुनिकताको बढ्दो प्रभाव र जीवनशैलीमा आएको परिवर्तनका कारण आफ्नो मौलिक संस्कृति हराउँदै गएपछि तनहुँका अल्पसङ्ख्यक दरै समुदाय यसको संरक्षणमा जुटेका छन् । पुस्तौँदेखि चल्दै आएको र पहिचानसँग जोडिएको ‘चुड्का नाच’ लोप हुने अवस्थामा पुगेपछि नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले यो समुदाय सक्रिय भएको हो ।
‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ हालै व्यास नगरपालिकामा यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष कार्यक्रम आयोजना गरिएको छ । दरै समुदायको परम्परागत लोकनृत्य चुड्का, सामूहिक रूपमा गीत गाउँदै र मादलको तालमा नाचिने नाच हो । यो विशेषगरी विवाह, चाडपर्व र उत्सवहरूमा प्रस्तुत गरिन्छ ।
दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैका अनुसार पठनपाठन र रोजगारीका लागि युवापुस्ता सहर पस्ने र वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै गाउँमा चुड्का नाच्ने मानिसको अभाव हुन थालेको छ । “हाम्रो मौलिक पहिचान नै हराउने डर भयो, त्यसैले व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रतियोगिता नै आयोजना गरेर युवाहरूलाई आकर्षित गर्न खोजेका हौँ,” उहाँले भन्नुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १८ हजार ६९५ मात्र जनसङ्ख्या रहेको यो सीमान्कृत समुदाय मुख्यगरी तनहुँ, गोरखा र नवलपुरमा बसोबास गर्दछन् । मोबाइल, इन्टरनेट र आधुनिक मनोरञ्जनका साधनका कारण परम्परागत संस्कृति ओझेलमा परेको समाजका उपाध्यक्ष विमल दरैले बताउनुभयो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चुड्का नाच केवल मनोरञ्जन मात्र नभई दरै समुदायको इतिहास, श्रम र सामाजिक भावनाको प्रतिबिम्ब भएको बताउनुभयो । उहाँले यसलाई मौखिक रूपमा मात्र सीमित नराखी अब डिजिटल र लिखित अभिलेखमा राख्नुपर्नेमा जोड दिनुभयो । स्थानीय पाठ्यक्रममा समेत यस्ता मौलिक संस्कृति समावेश गर्न सके संरक्षण अभियान अझ प्रभावकारी हुने सरोकारवालाहरूको सुझाव छ ।
चुड्का नाच जोगाउन आयोजित प्रतियोगितामा व्यास–१० स्थित दुम्सी दरै समाज प्रथम भएको छ । यस्तै, बैरेनी दरै समाज द्वितीय र दुम्सीचौर दरै समाज तृतीय भएका छन् । विजयी समूहहरूलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पोल्याङ र साँखर दरै समाजले पनि सहभागिता जनाएका थिए । नेपालको बहुसांस्कृतिक विविधता जोगाउन यस्ता स्थानीय प्रयासहरूले ठूलो महत्त्व राख्छन् ।