पूर्वप्रधानमन्त्री ओलीको रिहाइ माग गर्ने युवतीमाथि अनलाइन हिंसा : साइबर ब्युरोमा उजुरी दर्ता

काठमाडौँ, १८ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै भएको प्रदर्शनमा सहभागी हुँदा अनलाइन हिंसाको सिकार भएकी एक युवतीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ ।

अमिशा पराजुलीले सामाजिक सञ्जालमार्फत आफूमाथि अश्लील गालीगलौज र चरित्र हत्या गर्नेहरूलाई कारबाहीको माग गर्दै बुधबार ब्युरोमा उजुरी दिनुभएको हो । नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले उजुरी प्राप्त भएको र दर्ता प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

अध्यक्ष ओली पक्राउको विरोधमा एमालेले आयोजना गरेको सडक प्रदर्शनमा पराजुलीले नारा लगाएको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडिओमा उहाँको चरित्र हत्या गर्ने, अश्लील शब्द प्रयोग गर्ने र सार्वजनिक रूपमै यौन हिंसाको धम्की दिने हजारौँ टिप्पणी (कमेन्ट) हरू आएको बताइएको छ ।

यसै विषयलाई लिएर कानुनको साहरा लिनुभएकी पराजुलीले आफूलाई गाली गर्ने र धम्की दिनेहरूको विवरण तथा मोबाइल नम्बर सङ्कलन गरी ब्युरोमा बुझाएको बताउनुभयो । “आफूलाई सही लागेको विषयमा आवाज उठाउनु मेरो संवैधानिक हक हो,” उहाँले भन्नुभयो, “गालीबाट डराएर म आफ्नो आवाज बन्द गर्दिनँ । तर, भोलिका दिनमा कसैले पनि कसैविरुद्ध यस्तो धम्की र गालीको भाषा प्रयोग गर्न नसकुन् भनेर कानुनी कारबाहीमा गएकी हुँ ।”

उहाँले यसअघि भ्रष्टाचारविरुद्धको आन्दोलनमा पनि आफू सहभागी भएको र आफू कुनै राजनीतिक दलमा प्रत्यक्ष आबद्ध नभए पनि विगत दुई वर्षदेखि एमालेलाई समर्थन गर्दै आएको स्पष्ट पार्नुभयो ।

पछिल्लो समय सामाजिक सञ्जालमा फरक मत राख्ने महिला तथा किशोरीहरू डिजिटल हिंसाको सिकार हुने क्रम बढेको छ । यसअघि पनि सामाजिक सञ्जालमा विचार व्यक्त गर्दा रेणुका बराल र गायिका एलिना चौहानलगायतले यस्तै डिजिटल हिंसाको सामना गर्नुपरेको थियो ।