लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश, पक्राउ गर्नुपर्ने कारण देखिएन

काठमाडौँ, २२ चैत । काठमाडौँ जिल्ला अदालतले नेकपा (एमाले) की लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश दिएको छ । उहाँमाथि लागेको आरोप पुष्टि हुने वस्तुनिष्ठ आधार नदेखिएको भन्दै अदालतले थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन बाटो खोलेको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मिसिलमा संलग्न कागजातहरूको अध्ययन गर्दा शर्मालाई थुनामै राख्नुपर्ने पर्याप्त कारण नभेटिएको ठहर गरेको छ । अदालतको आदेशमा पीडित बालबालिकाको पढाइले निरन्तरता पाएको र प्रतिवादी (शर्मा) ले संरक्षकको भूमिका निर्वाह गर्दै आएको देखिएको उल्लेख छ ।

शर्माले पीडितलाई यातना दिएर ‘दास’ बनाएको भन्ने आरोपलाई पुष्टि गर्ने कुनै ठोस र वस्तुनिष्ठ प्रमाण नदेखिएको अदालतको निष्कर्ष छ । यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र पाटन उच्च अदालतले समेत मुद्दा नचलाउने निर्णय गरेका थिए, जसलाई जिल्ला अदालतले कानुनसम्मत ठहर गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयले गत जेठ १६ गते नै प्रतिवादीलाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै हिरासतमुक्त गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो । सोही कानुनी राय र उपलब्ध तथ्यहरूका आधारमा अदालतले आइतबार शर्मालाई रिहा गर्न आदेश दिएको हो ।