उपसभामुखमा विपक्षी दलहरूले उम्मेदवारी दिने, आज मनोनयन

काठमाडौं, २६ चैत्र । प्रतिनिधिसभाको उपसभामुख पदमा विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायतका दलहरू साझा उम्मेदवार तय गर्न आन्तरिक छलफलमा जुटेका छन् ।

संविधानको मर्मअनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भएकाले विपक्षीले उम्मेदवारी दिन लागेको कांग्रेस सांसद अर्जुननरसिंह केसीले बताउनुभयो । “सभामुखमा हामीले सर्वसम्मत हुन दिएर विपक्षीको धर्म निर्वाह गरेका छौँ,” सांसद केसीले भन्नुभयो, “अब सत्तापक्षले संविधानको मर्म पालना गर्दै उपसभामुख विपक्षीलाई दिएर सहमति जुटाउने प्रयास गर्छ भन्ने हाम्रो विश्वास छ ।” कुन दलबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा भने विपक्षी गठबन्धनभित्र अन्तिम टुङ्गो लाग्न बाँकी छ ।

सङ्घीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि उपसभामुखको मनोनयन दर्ताको समय तोकेको छ । सभामुख डोलप्रसाद अर्यालले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने घोषणा गरिसक्नुभएको छ ।