श्रममन्त्री दीपककुमार साह १३ दिनमै बर्खास्त
काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गर्नुभएको छ । पदीय मर्यादाविपरीत काम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेसँगै प्रधानमन्त्री शाहले उहाँलाई बर्खास्त गर्नुभएको हो ।
मन्त्री साहले आफ्नी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्य पदमा पुनः नियुक्ति दिलाउने विवादित निर्णय गराउनुभएको थियो । यसका साथै उहाँको विगतको पृष्ठभूमि पनि विवादित रहेको पाइएपछि रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष लिखित सिफारिस गर्नुभएको थियो । पार्टीको सोही सिफारिसका आधारमा प्रधानमन्त्रीले उहाँलाई हटाउनुभएको हो । साह मन्त्री नियुक्त भएको जम्मा १३ दिनमै पदमुक्त हुनुभएको छ ।
यसैबीच, स्वास्थ्य बिमा बोर्डमा भएको उक्त विवादित नियुक्ति प्रकरणमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई भने सचेत गराइएको छ ।
आफ्नो मन्त्रालयअन्तर्गत पर्ने यस्तो गम्भीर विषयमा पदीय जिम्मेवारी निर्वाह गर्दा लापरबाही गरेको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्यमन्त्रीलाई पनि सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नुभएको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई ध्यानाकर्षणसहित सचेत गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।