चितवनमा रगतको माग दैनिक १५० युनिट, युवा जनशक्ति विदेशिँदा रक्तदाताको अभाव
चितवन, ३ बैशाख । चितवन जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताहरूको सङ्ख्या भने घट्दै गएको छ । रगत अभावका कारण जटिल उपचारमा रहेका बिरामी र घाइतेहरू प्रत्यक्ष मारमा पर्न थालेका छन् ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार, जिल्लामा दैनिक १०० देखि १५० युनिटसम्म रगतको माग हुने गरेको छ । तर, मागअनुसार रगत सङ्कलन हुन नसक्दा आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ ।
तथ्याङ्कअनुसार केन्द्रमै आएर रक्तदान गर्नेहरूको सङ्ख्या बर्सेनि ओरालो लागिरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा आएर ६ हजार ९२० युनिट रगत सङ्कलन भएकोमा आव २०८१/८२ मा यो सङ्ख्या घटेर ४ हजार ६४० युनिटमा झरेको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म केन्द्रमा ३ हजार १८१ युनिट मात्र रगत सङ्कलन भएको छ ।
यस अवधिमा विभिन्न सङ्घसंस्थाले १६९ स्थानमा आयोजना गरेका शिविरबाट ११ हजार ५३२ युनिट रगत सङ्कलन भएको केन्द्रले जनाएको छ ।
प्रमुख पौडेलका अनुसार रक्तदान गर्ने मुख्य उमेर समूहका युवा जनशक्ति रोजगारी र अध्ययनका लागि बिदेसिनु नै रक्तदाता घट्नुको प्रमुख कारण हो । “उमेर बढ्दै गएका कतिपय पुराना रक्तदातामा उच्च रक्तचाप, मधुमेहजस्ता रोग देखिन थालेपछि उहाँहरूले रक्तदान गर्न मिल्दैन,” उहाँले भन्नुभयो, “दाता घट्ने र माग बढ्ने हुँदा सन्तुलन मिलाउन निकै कठिन भइरहेको छ ।”
यसैकारण चितवनमा रगतको माग पूर्ति गर्न छिमेकी १४ भन्दा बढी जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गरिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले बताउनुभयो ।
चितवनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुईवटा ठूला मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र दर्जनौँ निजी अस्पताल सञ्चालनमा छन् । यी अस्पतालमा देशैभरबाट बिरामी आउने भएकाले रगतको खपत उच्च हुने गरेको छ । विशेषगरी क्यान्सरका बिरामी र शल्यक्रिया गर्नुपर्ने घाइतेहरूलाई धेरै रगत आवश्यक पर्छ ।
ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले रेडक्रसले आम रक्तदाता र सङ्घसंस्थाहरूसँगको समन्वयकारी भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभएको छ ।
त्यसैगरी, भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा. भोजराज अधिकारीले युवाहरूलाई रक्तदानप्रति उत्प्रेरित गर्न विद्यालय तथा क्याम्पसका पाठ्यक्रममै यसको महत्त्व समावेश गर्नुपर्ने बताउनुभयो ।