आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया पुर्याइएका ४६ नेपालीको उद्धार, सबै स्वदेश फर्किए
काठमाडौं, ३ बैशाख । आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया पुगेर बन्धक बनेका ४६ जना नेपाली नागरिकको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरी स्वदेश फर्काइएको हो ।
विभिन्न दलाल तथा एजेन्टमार्फत गैरकानुनी बाटो हुँदै कम्बोडिया पुगेका उनीहरूलाई अनलाइन ठगी (स्क्याम) लगायतका गैरकानुनी काममा जबर्जस्ती लगाइएको सूचना प्राप्त भएपछि दूतावासले उद्धारको प्रक्रिया अघि बढाएको थियो । उद्धार गरिएका सबै ४६ जना सुरक्षित रूपमा नेपाल फर्किसकेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।
पछिल्ला वर्षहरूमा आकर्षक कमाइ हुने प्रलोभनमा परेर कम्बोडिया जाने नेपालीहरूको सङ्ख्या डरलाग्दो रूपमा बढेको छ । दूतावासको तथ्याङ्कअनुसार, सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया पुगेकोमा यो सङ्ख्या सन् २०२२ मा १,९७७ र सन् २०२३ मा २,९४० पुगेको थियो ।
त्यसैगरी, सन् २०२४ मा ६,४०४ जना र सन् २०२५ मा मात्रै ९,६७६ जना नेपाली कम्बोडिया पुगेको दूतावासले जनाएको छ । यसरी पुग्ने अधिकांश नेपाली भिजिट भिसा वा गैरकानुनी माध्यमबाट जाने गरेका छन्, जसका कारण उनीहरू मानव तस्करको फन्दामा पर्ने जोखिम उच्च रहेको छ ।
कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायतका दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा रोजगारीका नाममा मानव तस्करको गिरोह सक्रिय रहेको भन्दै दूतावासले गम्भीर ध्यानाकर्षण गराएको छ ।
वैदेशिक रोजगार विभागबाट अनिवार्य रूपमा श्रम स्वीकृति नलिई र आधिकारिक रोजगारदाता कम्पनीको यकिन नगरी भिजिट भिसा वा अन्य माध्यमबाट ती देशहरूमा नजान दूतावासले सम्पूर्ण नेपाली नागरिकलाई विशेष अपिल गरेको छ ।