बाढीका पहिचान हुन नसकेका शव काठमाडौँमा पनि गाडिने

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरू अब काठमाडौँमा पनि गाडिने भएको छ । देशभरका अस्पतालका शवगृहहरूले मृतकको चाप थेग्न नसकेपछि काठमाडौँको सरकारी वन क्षेत्रमा शव व्यवस्थापनको तयारी गरिएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार पहिचान नखुलेका शवहरूलाई काठमाडौँको एक सरकारी वन क्षेत्रमा व्यवस्थापन गरिनेछ । “उपयुक्त स्थान पत्ता लगाउन हामीले विगत तीन-चार दिनदेखि निरन्तर कसरत गरिरहेका थियौँ, अब ठाउँ तय भएको छ,” प्रजिअ पौडेलले भन्नुभयो ।

भदौ १० गतेको विनाशकारी बाढीपछि संकलन भएका शवहरूको सङ्ख्या ठुलो भएपछि स्वास्थ्य प्रणालीमा चुनौती थपिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालका शवगृहहरूको कूल क्षमता जम्मा ६०० मात्र रहेको छ । तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ९८७ वटा शव फेला परिसकेका छन् ।

बाढी आएको तेस्रो दिनदेखि नै चितवनका अस्पतालहरूमा शव राख्ने ठाउँ अभाव भएर करिडोरमै शवहरू कुहिने अवस्था सिर्जना भएको थियो । हालसम्म करिब १०० वटा शव परीक्षण र व्यवस्थापनका लागि काठमाडौँ ल्याइएको छ ।

सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम यी शवहरूको अन्तिम व्यवस्थापन गर्नेछ । निर्देशिकाअनुसार प्रत्येक शवको मुचुल्का तयार पार्ने, प्रारम्भिक पहिचानका लागि फोटो र हुलिया राख्ने तथा डिएनए (DNA) नमुना संकलन गर्ने अनिवार्य प्रावधान छ ।

भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सजिलो होस् भन्नका लागि प्रत्येक शवलाई विशेष सङ्केत चिह्न (Marker) राखेर अभिलेखीकरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि चितवनमा फेला परेका अज्ञात शवहरूलाई देवघाट क्षेत्रमा यस्तै विधि अपनाएर गाडिएकाे थियो ।