६ दिनको गिरावटपछि सम्हालियो सेयर बजार: नेप्सेमा ९ अङ्कको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौँ, १६ भदौ । साताको दोस्रो कारोबार दिन मंगलबार धितोपत्र बजारमा नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। विगत ६ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको बजारमा आज सामान्य सुधार देखिएको हो।

मंगलबार नेप्से परिसूचक ९.२४ अङ्कले बढेर २५२२.६६ विन्दुमा पुगेको छ। नेप्सेसँगै आज सेन्सेटिभ इण्डेक्स १.७२ अङ्क, फ्लोट इण्डेक्स ०.७२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अङ्कले बढेको छ।

परिसूचकमा सुधार देखिए पनि कारोबार रकममा भने सोमबारको तुलनामा गिरावट आएको छ। सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएकोमा आज २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँमा खुम्चिएको छ। आज ३४१ कम्पनीका ७६ लाख १३ हजार कित्ता सेयर ४८ हजार ३४१ पटक किनबेच भएका छन्।

आज माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ। त्यस्तै, एमबिएल इक्विटी फण्डको इकाई मूल्य करिब ६ प्रतिशत र इमर्जीङ्ग नेपालको सेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ। यता, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक ८.४८ प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, शिवम् सिमेन्टको १३ करोड ५० लाखभन्दा बढी र आँखु खोला जलविद्युत कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह मात्र ओरालो लागेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह भने १.०० प्रतिशतले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *