महान्यायाधिवक्ता डा. कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा तीन रिट, बिहीबार सुनुवाइ हुने
काठमाडौँ, ९ वैशाख । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्ति र योग्यतासम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ । कँडेलको नियुक्ति बदरको माग गर्दै मंगलबार सर्वोच्चमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिविरुद्ध दर्ता भएका रिटहरूको प्रारम्भिक सुनुवाइका लागि आगामी बिहीबारको पेशी तोकिएको छ । अधिवक्ताहरू माधव बस्नेत र दीपकराज जोशी लगायतले यी रिट दायर गरेका हुन् ।
रिट निवेदनमा महान्यायाधिवक्ता जस्तो गरिमामय र संवैधानिक पदमा ‘अयोग्य’ व्यक्ति नियुक्त गरिएको दाबी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।
नेपालको संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई मात्र महान्यायाधिवक्ता नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ । सर्वोच्चको न्यायाधीश हुनका लागि अन्य योग्यताका अतिरिक्त निरन्तर १५ वर्ष कानुन व्यवसायीका रूपमा काम गरेको अनुभव हुनुपर्ने प्रावधान छ । तर, महान्यायाधिवक्ता डा. कँडेलको हकमा १५ वर्ष निरन्तर वकालत गरेको अनुभव नपुग्ने दाबी रिट निवेदकहरूले गरेका छन् ।
नयाँ सरकार गठनसँगै गरिएको यो नियुक्ति विवादमा परेपछि अब कानुनी व्याख्याका लागि मुद्दा अदालतमा प्रवेश गरेको छ ।