सार्वजनिक सवारीको भाडा १० प्रतिशतसम्म बढाउने तयारी, विभागद्वारा मन्त्रालयमा प्रस्ताव पेश
काठमाडौँ, ९ वैशाख । बजारमा इन्धनको मूल्यमा भएको भारी वृद्धिलाई मध्यनजर गर्दै सरकारले सार्वजनिक सवारी साधनको भाडा पुनः बढाउने तयारी थालेको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सवारी साधनको भाडा वृद्धिका लागि आवश्यक प्रक्रिया पूरा गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अन्तिम स्वीकृतिका लागि प्रस्ताव पठाएको छ।
विभागले तयार पारेको नयाँ प्रस्तावमा यात्रुवाहक बसको भाडा ९.८ प्रतिशत र मालवाहक ढुवानीका साधन (ट्रक) को भाडा १३ प्रतिशतसम्मले वृद्धि गर्न सिफारिस गरिएको छ। मन्त्रालयले यस प्रस्तावलाई स्वीकृत गरेलगत्तै नयाँ भाडादर देशभर कार्यान्वयनमा आउनेछ।
सामान्यतया भाडा समायोजनको प्राविधिक अधिकार विभाग आफैँसँग भए पनि हालको महँगी र राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयको नेतृत्वबाटै निर्णय गराउन लागिएको हो। विभाग स्रोतका अनुसार, इन्धनको मूल्यमा भएको उतारचढावका बीच भाडा बढाउँदा सर्वसाधारणमा पर्न सक्ने असर र त्यसको राजनीतिक जिम्मेवारीका विषयमा मन्त्रालयको राय मागिएको हो। यदि सरकारले इन्धनको करमा सहुलियत दिएर भाडा वृद्धि रोक्न चाहेमा सो विकल्पका लागि समेत बाटो खुला राखिएको छ।
यातायात व्यवसायीहरूले भने डिजेलको मूल्य प्रतिलिटर ५५ रुपैयाँसम्म बढिसक्दा पनि सरकारले भाडा समायोजन नगरेको भन्दै तीव्र आक्रोश व्यक्त गर्दै आएका छन्।
विद्यमान कानुनी व्यवस्थाअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले थपघट भएमा स्वचालित रूपमा भाडा समायोजन हुनुपर्ने प्रावधान छ। तर, इन्धनको मूल्य व्यापक वृद्धि भए पनि सो प्रणाली कार्यान्वयनमा नआउँदा व्यवसायीहरूले विरोध गरिरहेका हुन्।
यसअघि गत वर्षको चैत २५ गते सरकारले यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत र मालवाहकमा १५ देखि २१ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो।