अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई काठमाडौँ महानगरद्वारा नगदसहित सम्मान

काठमाडौँ, ९ वैशाख ।काठमाडौँ महानगरपालिकाले विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गरी राष्ट्रको गरिमा बढाउन सफल दुई खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

आइतबार काठमाडौँ प्लाजामा आयोजित एक विशेष समारोहका बीच महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पदक विजेता खेलाडीहरूलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरूमा क्योकुसिन तेजुका वर्ल्ड कपका रजत पदक विजेता दावा शेर्पा र आइभिए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता चन्द्रबहादुर थापा रहनुभएको छ ।

जापानमा सन् २०२५ फेब्रुअरीमा सम्पन्न चौथो क्योकुसिन तेजुका वर्ल्ड कपमा रजत पदक जित्न सफल शेर्पालाई महानगरले १ लाख ५० हजार रुपैयाँ नगद र प्रशंसापत्र प्रदान गरेको छ । शेर्पाले नेपाल क्योकुसिन कराँते (इको) संघको प्रतिनिधित्व गर्दै उक्त पदक प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०२५ को नोभेम्बर-डिसेम्बरमा आयोजित मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक विजेता चन्द्रबहादुर थापालाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ । थापाले इन्डोनेसिया र इरानका प्रतिस्पर्धीलाई पराजित गर्दै पदक सुनिश्चित गर्नुभएको थियो ।

सो अवसरमा खेलाडीहरूका प्रशिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार के.सी. ले खेलाडीहरूको वृत्तिविकास र मनोबल उच्च राख्न महानगरले आगामी दिनमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खेलाडीहरूले अन्तर्राष्ट्रियस्तरमा देशको नाम उँचो बनाउनुभएको छ, उहाँहरूको लक्ष्य प्राप्तिमा महानगर सधैँ साथमा रहनेछ ।”

सम्मानित खेलाडी तथा प्रशिक्षकहरूले महानगरको यस प्रोत्साहनले खेल क्षेत्रमा थप मेहनत गर्न ऊर्जा मिलेको बताउनुभयो ।

सम्मान कार्यक्रममा महानगरका प्रवक्ता नवीन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, कार्यपालिका सदस्यहरू महेश नेपाली, ललिता खड्गी लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।