वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान
काठमाडौँ, वैशाख ९ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १७ गतेका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, आगामी वैशाख १७ गते बिहीबार दिउँसो २:०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि वर्षे अधिवेशन (बजेट अधिवेशन) आह्वान गर्न सिफारिस गरेको थियो ।