सार्वजनिक बिदामा ओपिडी सेवा नरोक्न पूर्वस्वास्थ्यमन्त्री पौडेलको माग, आफूले थालेका सुधारलाई निरन्तरता दिन आग्रह
काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिन सरकारी अस्पतालहरूमा ओपिडी (बहिरङ्ग) सेवा बन्द गर्ने कार्य रोक्न सरकारसँग आग्रह गरेका छन्।
बिदाको दिन ओपिडी सेवा बन्द हुँदा बिरामीले सास्ती पाएको र उनीहरूमाथि आर्थिक बोझ थपिएको भन्दै उनले सेवा खुम्च्याउने नभई विस्तार गर्ने नीति लिन सरकारको ध्यानाकर्षण गराएका हुन्।
बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले सरकारी अस्पतालमा मात्र ओपिडी सेवा रोकिँदा सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँचमा अवरोध पुगेको बताएका छन्। “स्वास्थ्य जस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट वञ्चित गर्ने होइन, यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक छ,” उनले भनेका छन्।
पूर्वस्वास्थ्यमन्त्री पौडेलले आफू मन्त्रालयमा रहँदा स्वास्थ्य क्षेत्रमा थालनी गरेका सुधारका प्रयासहरूलाई स्मरण गर्दै ती कार्यहरूलाई निरन्तरता दिन वर्तमान सरकारलाई अनुरोध गरेका छन्।
आफ्नो कार्यकालमा सार्वजनिक बिदाका दिन पनि ओपिडी सञ्चालन गर्न अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने प्रक्रिया अघि बढाएको उनले उल्लेख गरेका छन्। यसका साथै, बिरामीको चापलाई ध्यानमा राखी ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र विस्तारित स्वास्थ्य सेवा (Extended Health Service) मार्फत समय बढाउने कामको सुरुवात गरेको पौडेलले बताए।
स्वास्थ्य सेवालाई विशिष्ट सेवाको रूपमा लिँदै स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन भत्ता दिन अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनको चरणमा पुर्याएको पनि उनले स्मरण गराएका छन्। त्यस्तै, सरकारी अस्पतालहरूमा जनशक्ति अभाव कम गर्न पहिलो चरणमा २ हजार ५ सय नयाँ स्वास्थ्यकर्मीको दरबन्दी थप गर्ने प्रक्रियालाई आफूले अन्तिम चरणमा पुर्याएको पौडेलको भनाइ छ।
सरकारी स्वास्थ्य संस्थामार्फत आम नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउँदै निजी क्षेत्रलाई समेत प्रोत्साहन गरेर मात्र स्वास्थ्य प्रणालीलाई नागरिकमैत्री बनाउन सकिने पौडेलको बुझाइ छ। उनले आफूले सुरु गरेका सुधारका कार्यक्रमलाई निरन्तरता दिई समग्र स्वास्थ्य प्रणालीलाई प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसमक्ष विशेष अनुरोध गरेका छन्।