सुकुम्बासीको आँसुमा उत्सव मनाउनु पर्याप्त होइन, सम्मानजनक विकल्प देऊ : महासचिव पोखरेल

काठमाडौँ, १२ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराइएको घटनाप्रति टिप्पणी गर्दै सुकुम्बासीहरूलाई मानवीय व्यवहारका साथ तत्काल न्यायोचित समाधान दिन माग गर्नुभएको छ।

थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाएर खाली गराएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले सुकुम्बासीहरूले सरकारको आदेश पालना गरे पनि त्यो ‘अदृश्य त्रास र आतंक’को छायाँमा भएको उल्लेख गर्नुभयो। उहाँले बाध्य भएर घरबास छोडेका श्रमिकहरूको पीडा बुझ्न सरकारलाई आग्रह गर्नुभएको छ।

“गरिब र श्रमिकहरूको हातले सहर उठ्यो, तिनकै पसिनाले सडक, बजार र बस्ती गुल्जार भए,” पोखरेलले लेख्नुभएको छ, “आज उनीहरू बाध्य भएर बस्तीबाट टाढिँदै गर्दा केवल नियम पालना भएको उत्सव मनाउनु पर्याप्त होइन। उनीहरूको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो।”

महासचिव पोखरेलले अघिल्लो सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानुनी जटिलताहरू फुकाउँदै भूमि आयोगमार्फत प्रक्रिया अघि बढाएको स्मरण गराउनुभएको छ। प्रधानमन्त्री  बालेन शाहको कार्यशैलीतर्फ लक्षित गर्दै उहाँले भन्नुभएको छ, “लोकप्रिय जनादेश पाएको बालेन सरकारले समस्याबाट आक्रान्त जनताको विश्वास र भरोसालाई सम्मान गर्दै अविलम्ब मानवीय व्यवहारका साथ न्यायोचित समाधान दिनुपर्दछ।”

पोखरेलले सुकुम्बासीहरूको भरोसा र धैर्यता टुटेमा त्यसले मुलुकमा ‘विस्फोटक विद्रोह’ निम्त्याउन सक्ने भन्दै सरकारलाई समयमै सचेत रहन चेतावनी समेत दिनुभएको छ।