नवलपरासीमा सवारी दुर्घटना: ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
नवलपरासी , १५ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित मध्यबिन्दु नगरपालिका–७, हरियाली जङ्गल क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार, दुम्किबासबाट कावासोतीतर्फ जाँदै गरेको चामल बोकेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग प्र ०१–००१ च ०४७४ नम्बरको कार आज आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा परी कार चालक अन्दाजी ३५ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई ट्रक चालकले नै उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतकको नाम र ठेगाना हालसम्म खुल्न सकेको छैन। मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई घटनास्थलमै राखिएको छ भने घटनाको कारण र अन्य विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।