वैदेशिक रोजगारीको प्रलोभन देखाई करोडौँ ठगी गर्ने सात जना पक्राउ
काठमाडौँ, वैशाख १८ । वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक गन्तव्य मुलुकहरू पठाइदिने बहानामा करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जापान, कोरिया, अमेरिका र फ्रान्स जस्ता देशहरूमा आकर्षक तलबको प्रलोभन देखाई ४५ जना पीडितबाट कुल ३ करोड १४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरूमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन् ।
जापान पठाउने बहाना : अभियुक्त सुरज लिम्बू र कमलबहादुर मगरले ११ जना व्यक्तिलाई जापान पठाउने भन्दै १ करोड २ लाख रुपियाँ असुलेको पाइएको छ ।
कोरियाको प्रलोभन : विनोद थापाले २६ जना पीडितहरूलाई कोरिया पठाइदिने विश्वास दिलाई १ करोड ५० लाख रुपियाँ ठगी गरेको देखिएको छ ।
फ्रान्स र अन्य मुलुक : सागर शेर्पाले ५ जनाबाट २८ लाख रुपैयाँ (फ्रान्स पठाइदिने भन्दै) र सरोज गौतमले एक जनाबाट २७ लाख रुपियाँअसुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै अभियुक्तहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । वैदेशिक रोजगारीमा जाँदा आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अघि बढाउन र जथाभाबी रकम नबुझाउन समेत प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ ।