सुनको भाउ पुन: वृद्धि, एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो

काठमाडौँ, १८ वैशाख । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ। अघिल्लो दिन बिहीबार तोलामा १ हजार ८०० रुपैयाँले घटेको सुनको भाउ आज एकैदिन प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आजका लागि सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनसँगै आज चाँदीको भाउ पनि उकालो लागेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ।

यसैगरी, अन्तर्राष्ट्रिय बजारमा पनि सुनको कारोबार मूल्य उच्च रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ६१३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।