आईसीसी लिग–२: दीपेन्द्रको सानदार शतकमा नेपालद्वारा यूएईसामु २९० रनको विशाल लक्ष्य प्रस्तुत
काठमाडौँ, १८ वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा दीपेन्द्रसिंह ऐरीको सानदार शतकको मद्दतमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सामु २९० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रनको बलियो योगफल तयार पारेको हो।
नेपाललाई विशाल योगफलसम्म पुर्याउन मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले ९४ बलको सामना गर्दै १३ चौका र १ छक्काको मद्दतमा १०० रन पूरा गरे। सानदार प्रदर्शन गरेका उनी इनिङ्सको अन्तिम बलमा रनआउट हुन पुगेका थिए।
सुरुवाती ओभरमा केही दबाब झेलेको नेपालको इनिङ्सलाई सम्हाल्ने क्रममा ओपनर विनोद भण्डारीले पनि संयमित ब्याटिङ गर्दै ७९ बलमा ५६ रनको अर्धशतकीय पारी खेले।
त्यस्तै, आक्रामक ब्याटिङ गरेका गुल्सन झाले ३८ बलमा ४४ रन जोडे भने कप्तान रोहितकुमार पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए। अन्य ब्याटरहरूमा अर्जुन कुमाल र आरिफ शेखले समान ११–११ रन थप्दा भीम सार्की भने खाता नै नखोली पेभिलियन फर्किए।
बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र अजय कुमारले समान २–२ विकेट लिए भने हैदर अली र खुजैमा तनवीरको नाममा १–१ विकेट रह्यो।
२९० रनको विशाल लक्ष्य पछ्याउँदै यूएईले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।