विष्णुमती किनारको कंकेश्वरीमा १५ फिट लामो प्रस्तर बुद्ध मूर्ति अनावरण

काठमाडौँ,  वैशाख १८। २५७० औँ बुद्ध जयन्तीको पावन अवसर पारेर काठमाडौँ महानगरपालिका वडा नं. १९ स्थित विष्णुमती नदी किनारको कंकेश्वरी क्षेत्रमा नवनिर्मित बुद्ध मूर्तिको अनावरण गरिएको छ । काठमाडौँ महानगरपालिकाको पूर्वाधार समितिका संयोजक एवं वडा नं. १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठले शनिबार एक कार्यक्रमका बीच १५ फिट लामो सिंहशैय्यासन प्रस्तर बुद्ध मूर्तिको सार्वजनिक गर्नुभएको हो ।

करिब २८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त कलात्मक मूर्तिलाई जमिनबाट करिब ४ फिट अग्लो आसनमा प्रतिष्ठित गरिएको छ ।

मूर्ति सार्वजनिक गर्दै वडाध्यक्ष श्रेष्ठले उक्त क्षेत्रलाई ‘बुद्ध पार्क’ को रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पार्कलाई बालबालिका, युवा तथा ज्येष्ठ नागरिकमैत्री संरचनासहित व्यवस्थित गरिनेछ । पार्कको दिगो व्यवस्थापनका लागि स्थानीय समुदायलाई नै जिम्मेवारी सुम्पिने र वडा कार्यालयले अभिभावकीय भूमिका निर्वाह गर्दै संरक्षणमा सहयोग पुर्‍याउने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।

“भौतिक संरचना निर्माण गर्नुभन्दा त्यसको संरक्षण र व्यवस्थापन गर्नु बढी चुनौतीपूर्ण हुन्छ,” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “त्यसैले यस पार्कको उपयोग र संरक्षणमा स्थानीय बासिन्दाले अपनत्व महसुस गर्दै आफ्नो दायित्व निर्वाह गर्नु आवश्यक छ ।”

मूर्ति सार्वजनिक गर्नुअघि स्थानीय समुदायको सहभागितामा वडाका विभिन्न स्थानमा ‘अस्थिधातु यात्रा’ निकालिएको थियो । उक्त यात्रा पश्चात् नमूना विहारमा विधिपूर्वक बुद्धको पूजाआराधना सम्पन्न गरी मूर्ति अनावरण गरिएको थियो ।

यस पहलले विष्णुमती किनारको धार्मिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्ने विश्वास लिइएको छ ।