मध्यपूर्वमा अमेरिकी सैन्य अखडामा इरानको भीषण आक्रमण: १६ वटा बेस क्षतिग्रस्त, २५ अर्ब डलर नोक्सानी भएको खुलासा
एजेन्सी, १९ वैशाख । अमेरिका र इरानबीच जारी युद्धका कारण मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा गम्भीर क्षति पुगेको छ । एक पछिल्लो अनुसन्धानले देखाएअनुसार गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले अमेरिकी सैन्य शक्तिमाथि ठूलो प्रहार गरेका छन् ।
इरान र उसलाई सहयोग गर्ने सशस्त्र समूहहरूले मध्यपूर्वका ८ देशमा फैलिएका कम्तीमा १६ वटा अमेरिकी सैन्य स्थलहरूमा आक्रमण गरेका छन् । समाचार प्रतिवेदनहरूका अनुसार यी आक्रमणहरूबाट ती सैन्य अखडाहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । कतिपय आधार शिविरहरू (Bases) लगभग प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् । अमेरिकी संसदीय सूत्रहरूका अनुसार प्रभावित भएका यी संरचनाहरू मध्यपूर्वमा रहेका कुल अमेरिकी सैन्य पूर्वाधारको ठूलो हिस्सा हुन् ।
उपग्रह (स्याटेलाइट) बाट प्राप्त तस्बिरहरूका आधारमा इरानले अमेरिकी उन्नत रडार प्रणाली, सञ्चार संयन्त्र र महँगा लडाकु विमानहरूलाई विशेष निशाना बनाएको देखिएको छ । यी उपकरणहरू अत्यधिक खर्चिलो हुनुका साथै तुरुन्तै प्रतिस्थापन गर्न कठिन हुने भएकाले मध्यपूर्वमा अमेरिकी सैन्य क्षमतामा प्रत्यक्ष धक्का लागेको विश्लेषण गरिएको छ ।
सैन्य विशेषज्ञहरूका अनुसार इरानले ‘कस्ट–इफेक्टिभ’ (कम खर्चिलो तर बढी प्रभावकारी) रणनीति अपनाएको देखिन्छ । उसले कम स्रोत प्रयोग गरेर अमेरिकालाई रणनीतिक रूपमा ठूलो क्षति पुर्याउन सफल भएको छ । केही स्थलहरू पूर्ण रूपमा ध्वस्त भएर बन्द गर्नुपर्ने स्थितिमा पुगेका छन् भने केहीलाई मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
अमेरिकी रक्षा निकायका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार इरानसँगको यो द्वन्द्वका कारण अहिलेसम्म अमेरिकी करदाताहरूको करिब २५ अर्ब डलर खर्च भइसकेको छ । यो खर्च सैन्य परिचालन, सुरक्षा र क्षतिग्रस्त संरचनाको मर्मत सम्भारमा भएको बताइएको छ ।
यस घटनाक्रमले मध्यपूर्वमा दशकौँदेखि कायम रहेको अमेरिकी सैन्य उपस्थिति र रणनीतिको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ । इरानको यो आक्रामक रूपले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल मोडमा पुगेको छ । विज्ञहरूले आगामी दिनमा द्वन्द्व अझै चर्किन सक्ने र यसले विश्व अर्थतन्त्र तथा कूटनीतिमा समेत ठूलो असर पार्ने चेतावनी दिएका छन् ।